सर्लाहीको बरहथवा नगरपालिका–१०, सीतापुरमा एक भारतीय नम्बर प्लेटको गाडीले बिहेको जन्तीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार साँझ करिब ७ बजे बरहथवाबाट सीतापुर जाँदै गरेको डिएल९सीजेड०७७७ नम्बरको गाडीले विवाह समारोहमा आएका जन्तीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा बरहथवा नगरपालिका–९ बस्ने करिब ५० वर्षीय नारायण जर्गा मगर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नगर अस्पताल बरहथवा लगिएकोमा चिकित्सकले राति करिब ८ बजे मृत घोषणा गरेका हुन्।
दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्।
घाइतेमध्ये रौतहट दोस्तिया पिपरिया बस्ने ७० वर्षीय कमल पटेलको टाउकोमा गम्भीर चोट लागेको छ। उनको हनुमन्त अस्पताल बरहथवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, रौतहट गढीमाई नगरपालिका–११ बस्ने बन्दना पटेल बेहोस अवस्थामा उपचाररत छिन्। अन्य घाइतेहरूमा रूपेश मण्डल, प्रतिमा कुमारी पटेल, दिलिप राय, चन्दन पासवान, दीपिका जैसवाल, रामजी राय, मुकेश राउत, रामनारायण ठाकुर र गुलाब कुमारी मण्डल छन्।
उनीहरूको बरहथवास्थित हनुमन्त अस्पताल, नगर अस्पताल तथा एडभान्स अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि प्रहरीले गाडी र चालक बरहथवा नगरपालिका–१२ लौकठ बस्ने करिब ४० वर्षीय नरेश ठाकुरलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायब निरीक्षक धर्बेन्द्र साहको कमान्डमा ८ जना र इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक नितेश जर्गा मगरको कमान्डमा ११ जनाको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।