मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरूलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ।
बुधबार जिल्ला प्रशासन काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकहरूलाई जनही एक सय रुपैयाँका दरले कारबाही गरेको हो।
त्यस्तै, प्रशासनले काठमाडौंको सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ।
अनुगमनपछि सञ्चारकर्मीहरूसँग बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले सार्वजनिक क्षेत्रमा हिँड्डुल गर्ने आम सर्वसाधारणहरूलाई पनि सरकारले जारी गरेको कोरोनासम्बन्धी स्वास्थ्यका मापदण्डको बारेमा सचेत गराइएको बताए।
उनले मल र सुपर मार्केटलाई सरकारले जारी गरेको निर्देशिकाअनुसार २५ जना बढी भेला हुन नपाइने विषयमा सचेत गराइएको हो भने स्वास्थ्यका मापदण्ड पालना नगर्ने आम सर्वसाधारणहरूलाई एक सय रुपैयाँको कारबाही गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी केसीले सबभन्दा ठूलो र महत्वपूर्ण अनुगमनकर्ता भनेको नै नागरिक भएकोले नागरिक नै सचेत बनेर सरकारले जारी गरेका कोरोनासम्बन्धी स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरे।