सुनौलो रङ लगाएको फलामको ढिक्कालाई सुन भनी ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
रूपन्देहीको सैनामैना नगरपालिका वडा नं १० शितलापुरस्थित होटलबाट र कञ्चन गाउँपालिका १ हात्तीबजारबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले ठगी मुद्दामा अनुसन्धान सुरू गरेको छ।
बुटवल उपमहानगरपालिका वडा नं.१७ बस्ने ४० वर्षीय धन सौमैले लगाएको सुनको ब्रासलेटसँग सुनौलो रङ लगाएको फलामको ढिक्का दिएर भाग्ने उनीहरूलाई प्रहरीले सैनामैना र कञ्चनबाट पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ पर्नेमा रूपन्देही गैंडहवा गाउँपालिका वडा नं ९ धुसुवा बस्ने ३७ वर्षीय काके भन्ने धनबहादुर सुनार र अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं ३ घर भई हाल कञ्चन गाउँपालिका वडा नं १ हात्तीबजार बस्ने ३७ वर्षीय कोनविन भन्ने देवबहादुर मगरलाई पक्राउ गरिएको हो।
प्रहरीले उनीहरूको साथबाट सुनजस्तो देखिने पहेलो पदार्थ लगाएको फलामको ९ वटा ढिक्का विभिन्न कम्पनीका चार वटा मोबाइल सेट बरामद गरेको जनाएको छ।
त्यस्तै, फलामको डल्लामा लगाउन प्रयोग गरिएको सुनौलो रङसहितको एक डिब्बा र पीडितको ब्रासलेट गालेर बनाएको १ तोला ७ लाल ८ पोइन्ट सुनको डल्ला पनि बरामद गरेको प्रहरीले जनाएको छ।