क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा एक जनासँग ६ लाख धरौटी माग गरिएको छ।
क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा पक्राउ परेका काभ्रे मण्डनदेउपुर गाउँपालिका-७ का २८ वर्षीय विश्वराम श्रेष्ठसँग जिल्ला अदालत काठमाडौंले ६ लाख रूपैयाँ धरौटी माग गरेको हो।
गत असार ३२ गते आफ्नो बैंक खाताबाट अचानक रकम ट्रान्सफर भएको भन्दै जीवनराम उप्रेती जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका थिए। प्रहरीले यस सम्बन्धमा अनुसन्धान गर्दा उनको रकम विश्वरामको खातामा जम्मा भएको देखिएको थियो।
त्यसपछि प्रहरीले साउन १ गते नै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। अनुसन्धान गर्दा उनले क्रिप्टोकरेन्सी कारोबार गरिरहेको देखिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
उनका अनुसार यस कारोबारमा अर्का एक जना व्यक्ति पनि संलग्न छन्। उनी दुबई बस्ने ज्ञानबहादुर श्रेष्ठ हुन्। उनले वैदेशिक रोजगारमा काम गरिरहेका व्यक्तिहरूलाई भेला पारेर पैसा जम्मा गर्ने गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।
मैनालीका अनुसार ज्ञानबहादुरले आफूले बैंकभन्दा सस्तोमा रकम नेपाल पठाइदिने भनेर वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूलाई भन्थे। सो पैसाको उनले पनि क्रिप्टो नै किनेर विश्वरामको क्रिप्टोकरेन्सी बाइनेन्सको खातामा पठाइदिने गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।
फेरि सोही क्रिप्टोकरेन्सी बिक्री गरी ज्ञानबहादुरले टिपाएका बैंक खाताहरूमा रकम जम्मा गर्ने गरेको खुलेको हो।
यसमा अनुसन्धान सकेर परिसरले जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन पेस गरेको थियो। त्यहाँबाट काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी मंगलबार धरौटी माग गरिएको प्रहरी उपरीक्षक मैनालीले बताए।
नेपालमा क्रिप्टोकरेन्सीको कारोबार निषेध छ। विदेशमै रहेका नेपालीहरूले पनि क्रिप्टोको कारोबार गर्नु गैरकानुनी मानेको छ। नेपाल राष्ट्र बैंक र प्रहरीले यसमा नलाग्न पटकपटक अनुरोध गरेको छ।