काठमाडौं महानगरपालिकाले गाईजात्रा पर्वलाई मध्यनजर गर्दै कोर-सिटीको फोहोर बिहीबार रातिदेखि नै उठाएर टेकुमा राख्ने भएको छ।
बिहीबार नगरकार्यपालिका बैठक सकिएलगत्तै बसेको फोहोर व्यवस्थापन समिति बैठकले आज रातिदेखि नै फोहोर उठाउने निर्णय गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। उनका अनुसार उक्त फोहोर टेकुमा राखिने निर्णय भएको छ।
आजै फोहोर उठाएर जात्रा पर्व गर्न वातावरण सहज बनाउन लागेको उनले बताए।
‘गाईजात्रालाई मध्यनजर गर्दै आज राति नै फोहोर उठाउन लागिएको हो,’ उनले भने, ‘रातभरिमा कोर-सिटीको फोहोर उठ्नेछ। त्यहीअनुसार अहिले फोहोर उठिरहेको छ।’
उठाउन बाँकी रहेको फोहोर भोलि र पर्सि उठ्ने मानन्धरले बताए।
यस्तै शुक्रबार स्थानीयसँग हुने वार्ता सफल भए माग सम्बोधन गरी शुक्रबारदेखि नै फोहोर सिसडोल लैजान सकिने उनको भनाइ छ।
'गाडी तोडफोड भएपछि उहाँहरूको गाडी बनाइदिनुपर्ने र तोडफोड गर्ने व्यक्तिलाई सजाय दिनुपर्ने माग छ,' उनले भने, 'यस्तै उहाँहरूलाई गाडी चलाउँदा सुरक्षाको व्यवस्था गरिदिनुपर्ने भन्नुभएको छ।'
बिहीबार बसेको सातौं कार्यपालिका बैठकमा काठमाडौंमा केही सातादेखि फोहोर नउठेर सडकमा असरल्ल थुप्रिएपछि वडाध्यक्षले सरकारको ध्यानाकर्षण गराउन खुलामञ्च, भिआइपी हिँड्ने बाटो वा बागमती नदीमै विसर्जन गर्ने चेतावनी दिएका थिए।
‘सरकारले असहयोग गरेको हो भने भिआइपी हिँड्ने बाटोमै फोहोर फाल्दा हुन्छ,’ ३० नम्बरका वडाध्यक्ष दलबहादुर कार्कीले भने, ‘त्यो पनि नभए बागमतीमै फाल्दा हुन्छ। युएन पार्कमा लगेर फाल्दा हुन्छ। त्यति गरेपछि बल्ल सरकारको ध्यान जान्छ। यसो गर्दा गोली हान्छ भने हामी गोली खान तयार छौं।’
वडाध्यक्षहरूले शुक्रबारको गाईजात्रा र आगामी दिनमा हुने अन्य सांस्कृतिक पर्वहरूलाई विचार गरेर कम्तीमा भित्री सहरको फोहोर तत्काल सफा गर्नुपर्नेमा जोड दिएका थिए।
‘भोलि गाईजात्राका लागि फोहोर उठाउन हतार भइसक्यो,’ उनले भने, ‘त्यो आजै उठाउनुपर्छ। राख्ने ठाउँ छैन भने बरू अहिलेलाई खुलामञ्चमा भए पनि राखौं।’
गाईजात्रा क्रममा मध्यसहरका विभिन्न क्षेत्र घुम्नुपर्ने हुँदा कम्तीमा शुक्रबारका लागि फोहोर पन्छाउन खुलामञ्चमा व्यवस्थापन गर्न सकिने वडाध्यक्षहरूको राय थियो। यसका लागि रातभरि काम गर्नुपरे पनि सबै तयार हुने उनीहरूले बताएका थिए।
मेयर बालेन शाहले काठमाडौं उपत्यकाको फोहोर फाल्ने ठाउँ बञ्चरेडाँडा र सिसडोलमा समस्या आएकाले फोहोर नउठेको जानकारी दिएका थिए। यता टेकुमा पनि फोहोर भरिएकाले त्यहाँ राख्न सक्ने अवस्था नभएको उनले उल्लेख गरेका थिए।
‘हामीले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिरहेका छौं,’ उनले भने।