राष्ट्रिय जनगणना २०७८ का अनुसार कर्णाली प्रदेशमा शिशु मृत्युदर ६.४ प्रतिशत रहेको देखिएको छ।
तीन लाख ५२ हजार नौ सय ८३ विवाहित महिलाले हालसम्म आठ लाख ५२ हजार तीन सय २२ बच्चा जन्माएका छन्। तीमध्ये ६.४ प्रतिशत अर्थात् ५४ हजार ५४८ शिशुको मृत्यु भएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। मृत्यु हुनेमा बालिकाभन्दा बालक धेरै छन्।
प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै दुई सय १८ शिशुको मृत्यु भएको थियो। पछिल्लो तीन वर्षमा पाँच वर्षमुनिका पाँच सय ८६ बालबालिकाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यसैबीच, राष्ट्रिय जनगणनाको तथ्यांकमा पछिल्लो समय कर्णाली प्रदेशमा छोरीभन्दा छोराको धेरै जन्म भएको देखिन्छ। गत वर्षसम्म आठ लाख ५२ हजार ३५२ बच्चा जन्मिएकामा ५२.२ प्रतिशत अर्थात् चार लाख ४४ हजार ९१२ छोराको जन्म भएको छ। त्यस्तै, ४७.९ प्रतिशत अर्थात् चार लाख आठ हजार २६३ छोरीको जन्म भएको छ।
यहाँका महिलाहरू अझै पनि जोखिम मोलेर घरमै सुत्केरी हुनाले मातृ तथा शिशु मृत्युदर नघटेको सरोकारवालाहरू बताउँछन्।