दक्षिण कोरियाको बुसान सहरको एउटा नहरमा एक महिनादेखि अड्किएको सार्कको सुरक्षाका लागि युट्युबरहरूले रातभर पहरा दिएका छन्।
यसबीच उक्त सार्क हेर्न १६ लाखभन्दा बढी मानिस पुगेका छन्।
करिब तीन मिटर लामो उक्त सार्क सेप्टेम्बर १८ मा बुसानको नर्थ पोर्टस्थित कृत्रिम नहरमा देखिएको थियो। स्थानीयले त्यसलाई मायाले 'बुकांगी' नाम दिएका छन्।
सार्क हेर्न दैनिक हजारौं मानिस आउने गरेका थिए। कतिपयले राति टर्च र लेजरको प्रकाश सार्कमाथि पारेर दुःख दिन थालेपछि स्थानीय युट्युबरहरू त्यसको सुरक्षामा खटिएका हुन्।
उनीहरूले रातभर नहरको निगरानी गर्ने, सार्कलाई दुःख दिने मानिसलाई सम्झाउने र गतिविधि प्रत्यक्ष प्रसारण गर्ने गरेका थिए।
बुधबार प्रकाशित बेलायती पत्रिका 'द गार्डियन' का अनुसार ती युट्युबरले आफूलाई सार्कका स्वयंसेवी रक्षकका रूपमा प्रस्तुत गरेका छन्।
यसअघि दुई पटक सार्कलाई समुद्रमा फर्काउने प्रयास असफल भएको थियो। पानी चिसिँदै जाँदा उसको जीवन जोखिममा पर्ने चिन्ताबीच बुधबार तेस्रो उद्धार अभियान सञ्चालन गरिएको थियो।
दक्षिण कोरियाली समाचार संस्था योनहापले बुधबार दिएको पछिल्लो जानकारी अनुसार सार्क कृत्रिम नहरबाट बाहिर निस्किएको छ र उद्धार अभियान समाप्त गरिएको छ।