गर्भनली बन्द हुनुको सबभन्दा पहिलो कारण संक्रमण हो। पाठेघर र पेटमा हुने क्षयरोग र पाठेघरमा हुने संक्रमणले यस्तो समस्या आउँछ।
महिनावारी हुने पत्र अर्को ठाउँमा गएर टाँसियो भने पनि पाठेघरको नली बन्द हुन सक्छ। त्यस्तै कुनै बिरामीको एपेन्डिसाइटिस शल्यक्रिया गर्दाख र बन्ध्याकरण गर्दा पनि गर्भनली बन्द हुन सक्छ। कतिको भने जन्मजात समस्या हुन सक्छ।
बिरामीको लक्षण र केही परीक्षण गरेर गर्भनली बन्द भएको थाहा हुन्छ। बिहे गरेर एक वर्षसम्म सँगै हुँदा पनि बच्चा भएको छैन भने, तल्लो पेट दुखिरहने र पाठेघर संक्रमण भइरहन्छ भने गर्भनली बन्द भएको हुन सक्छ।
अल्ट्रासाउन्ड (भिडिओ एक्सरे) को मद्दतले पाठेघरको मुखबाट नर्मल सलाइन पठाएर पाठेघरको दुवैतिर पानी झरिरहेको छ कि छैन भनेर परीक्षण गर्न सकिन्छ। यो एकदमै प्राथमिक परीक्षण हो। तर यसबाट धेरै भरपर्दो नतिजा आउँछ भन्ने हुँदैन
अर्को, पाठेघरको मुखबाट सानो नली पठाएर एक्सरे गरिन्छ। यसबाट त्यहाँ भएको समस्या थाहा हुन्छ। दुवैतिरको नली खुला छ कि छैन भनेर थाहा पाउन सकिन्छ। शतप्रतिशत ढुक्क हुन तलबाट मिथोलिन-ब्लु पठाएर, माथिबाट ल्याप्रोस्कोपीबाट ट्युबहरू खुला छन् कि छैनन् भनेर हेर्न सकिन्छ।
गर्भनली बन्द भएपछि सबभन्दा ठूलो असर भनेको बच्चा नहुने नै हो। कसैलाई तल्लो पेट दुखिरहने अनि महिनावारी हुँदा अत्यधिक पेट दुख्ने हुन्छ। कतिपयलाई कुनै लक्षण देखिँदैन।
बिरामीको आवश्यकता अनुसारको उपचार हुन्छ। गर्भनली कुन ठाउँमा बन्द भएको छ भनेर हेर्न सकिन्छ। त्यसको आधारमा उपचार गरिन्छ। गर्भनली पूर्ण रूपमा बन्द रहेछ भने बच्चा जन्माउन आइभिएफ नै गर्नुपर्छ।
(स्त्री तथा प्रसूति रोग तथा आइभिएफ विशेषज्ञ डा. लता श्रेष्ठ वात्सल्य नेचुरल आइभिएफमा कार्यरत छन्।)