श्रीमान् गुमाएको पीडा। भूकम्पले चर्किएको घर। वर्षायाममा कसरी ओत लाग्ने होला भन्ने चिन्ता।
रामपुर नगरपालिका–४ छतिवन डाँडाकी विष्णुमाया रानाका लागि विगतका दिन सहज थिएनन्।
दुःखपछि सुख फर्किन्छ भने जस्तै, यसपटकको तिहार उनका लागि विगतभन्दा फरक हुने भएको छ।
सुरक्षित घर पाएपछि रानाले खुसी व्यक्त गर्दै भनिन्, ‘हाम्रा दुःखका दिन सकिएको जस्तो लागेको छ।’
उनले घर निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन्।
अब चर्किएको घरमा डरैडरमा रात काट्नुपर्ने वाध्यता हटेको छ। नयाँ सुरक्षित घरमा परिवारसँगै उज्यालोको पर्व मनाउने अवसर प्राप्त भएको छ। रानासँगै रामपुर नगरपालिका–२ खयरबोटकी बन्दना विश्वकर्मा र वडा नं ६ माझटोलकी गनमाया घर्तीको जीवनमा नयाँ खुसी थपिएको छ ।
रामपुर नगरपालिका, गैरसरकारी संस्था ‘निवास’ को सहयोग, टुकी फाउन्डेसन आर्थिक साझेदारीमा निर्माण गरिएका दुईकोठे भूकम्प प्रतिरोधी घर र शौचालय पाएपछि उनीहरुले सुरक्षित आवासको सपना पूरा गरेका छन्।
‘चर्किएको पुरानो घरमा डरैडरमा दिन काट्नु परेको थियो, अहिले चिटिक्क परेको आफ्नै सुरक्षित घर पाउँदा खुसीको सीमा नै छैन,’ घरको साँचो बुझ्दै घर्तीले खुसी व्यक्त गरिन्।