मानसिक रोगको शंका लाग्नु एकदम स्वाभाविक हो। त्योभन्दा पहिला यो रोग किन लाग्छ भन्नेबाट सुरू गरौं।
कसैले मानसिक रोगबारे मिडियाबाट अथवा सामाजिक सञ्जालबाट थाहा पाए भने आफूलाई पनि त्यस्तै भएजस्तो लाग्न सक्छ। उसलाई डर लाग्ने कुरा गर्छ मलाई पनि त्यस्तै हुन्छ, उसलाई के गर्न मन लागेन भन्छ, मलाई पनि त्यस्तै हुन्छ भनेर अरूले भनेको सुनेर अथवा पढ्दा आफूलाई त्यस्तो लाग्नु स्वाभाविक हो। डाक्टरहरूलाई समेत पढ्दा त्यस्तै लाग्छ। मलाई पनि त्यस्तै लागेको थियो।
मानसिक रोगको लक्षण देखिन साथ नेपालमा अब सबैथोक सकियोजस्तो गरिन्छ। मानसिक रोग विशेषज्ञकहाँ जानुपर्छ अथवा जिन्दगीभरी औषधी खान पर्ने हो कि भन्ने हुन्छ।
धेरै जनालाई व्यापक रूपमा देखिने भनेको डिप्रेसन, एन्जाइटी हो। आफूलाई कुनै लक्षण देखिएको छ भने यो सधैं हो कि बेला मौकामा मात्रै देखिएको हो भनेर बुझ्नुपर्छ। जस्तो: मन आत्तिने, डराउनेजस्ता समस्याले आफ्नो दैनिकीमा असर पारेको छ कि छैन भनेर छुट्याउनुपर्छ।
संसारभरी मानसिक समस्या जुन रूपमा देखिन्छ, नेपालमा पनि त्यस्तै छ। विकसित देशमा आफूलाई समस्या देखियो भने कसरी समाधान गर्ने भन्ने जनचेतना छ तर नेपालमा यसको थोरै कमी छ जस्तो लाग्छ। आफूलाई मानसिक समस्या हो जस्तो लाग्यो भने सबभन्दा पहिला चिकित्सककहाँ जानुपर्छ। सधैं यस्ता खालका लक्षण मानसिक समस्याले मात्र देखिँदैन। कहिले थाइराइडको समस्या, आइरन नपुगेकोले, भिटामिन नपुगेको समस्या लगायतका लक्षण पनि मानसिक समस्याकै लक्षण जस्तो देखिन्छ।
उदाहरणको लागि, आलस्य हुने, खाना खान मन नलाग्ने, दिक्क लाग्ने जस्ता लक्षण देखिएमा डिप्रेसन भयो भन्न सक्छन तर थाइराइडको समस्यामा समेत यस्ता लक्षण देखिन्छन्। त्यसैले थाइराइडको, मुटुको लगायतको परीक्षण गर्दा समेत केही लक्षण देखिएन भने मानसिक रोग विशेषज्ञकहाँ जान उचित हुन्छ। सुरूमै मानसिक रोग विशेषज्ञकहाँ गए पनि अरू स्वास्थ्य परीक्षण हुन्छ तर हामी सिधै जान चाहँदैनौं। त्यसैले पहिला जनरल फिजिसियनकहाँ गएर समेत परामर्श लिन सकिन्छ।
मानसिक रोग विशेषज्ञकहाँ जान साथ औषधी खानै पर्छ, त्यसको लत लाग्छ भन्ने सोच धेरैलाई छ। चिकित्सकले जबरजस्ती सधैंभरी औषधी खुवाउने भन्ने हुँदैन। अर्को कुरा सबै जनाले औषधी खानै पर्छ भन्ने हुँदैन। कतिपय बिरामीको समस्या परामर्शबाटै समाधान हुन्छ।
मानसिक रोगबाट जोगिनको लागि आफूले खानपिन र व्यायाममा ध्यान दिनुपर्छ। जस्तो: रक्सी खाएर मान्छेलाई निन्द्रा लाग्छ भनिन्छ तर त्यसले झनै समस्या ल्याउँछ भन्ने बुझ्नुपर्छ। व्यायाम गरेमा शरीर थाक्छ जसले गर्दा निन्द्रा लाग्न मद्धत हुन्छ।
मानसिक रोग विशेषज्ञ बाहेकका धेरै चिकित्सकले बिरामीको रोगबारे खासै भन्न चाहँदैनन्। मानसिक रोगबारे बताउँदा अरू समस्या पर्छ कि भनेर चिकित्सक समेत डराइरहेका हुन्छन्। त्यसैले आफूलाई शंका लागेको छ भने बिरामी आफैं खुल्नुपर्छ।
४\५ जनामध्ये १ जनालाई कुनै न कुनै प्रकारको मानसिक रोग हुन सक्छ भन्ने अध्ययनले देखाएको छ। त्यसैले यो हुने बित्तिकै म खतमै भएँ भनेर सोच्न पर्दैन। अर्को यसको औषधी सधैं खानुपर्ने भन्ने हुँदैन। औषधी खाने, खानपिन र व्यायाममा ध्यान दिने अनि काउन्सिलिङ भयो भने रोग निको हुन्छ।
नेपालमा सरकारी तवरबाट काउन्सिलरको राम्रो व्यवस्था गरिएको छैन।
मानसिक समस्याबाट जोगिन सबैभन्दा पहिला व्यक्ति स्वयमले ध्यान दिने हो। त्यसको लागि क्षणिक रूपमा आनन्द दिने तर दीर्घकालमा हानी हुने काम गर्न हुँदैन। जस्तै: चुरोट खानेले तत्कालको तनाव हटेको दाबी गर्न सक्छन् तर यसले दीर्घकालसम्म एन्जाइटीको समस्या ल्याउँछ। अनि एन्जाइटीसँग जुध्ने क्षमता समेत घट्दै जान्छ। राति सुत्दा निन्द्रा लागेन भने सामाजिक सञ्जालमा भुल्ने गरिन्छ। अनि कालान्तरमा त्यही लत बस्छ।
हाम्रो अध्ययनले के देखाएको छ भने मानसिक समस्याबारे घर-घरमै प्राथमिक रूपमा परामर्श दिनुपर्छ। त्यसको लागि चिकित्सक चाहिन्छ भन्ने छैन। त्यसले एकातिर प्रारम्भिक समस्या थाहा हुन्छ भने अर्कोतिर बिरामी चिकित्सककहाँ जान तयार हुन्छ।
हामीले मानसिक रोगलाई अरू रोगजस्तै सम्झिनु पर्छ। जस्तै: खुट्टा भाँचियो भने डाक्टरकहाँ गइन्छ। तर मर्कियो भने के गर्ने त भाँचिएकै त होइन। मानसिक रोग पनि यस्तै हो। सबै खाले समस्यामा सधैं औषधी खानैपर्छ भन्ने होइन। यो पनि एउटा रोग नै हो। अरूलाई पनि यस्तो समस्या हुन्छ भन्ने ठानेर उपचार गर्न साथ रोग निको हुन्छ। त्यसैले मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यलाई एकै रूपमा लिनुपर्छ।
(मानसिक रोग विशेषज्ञ डा.विभव आचार्य अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया स्यानफ्रान्सिस्को र नेपालमा पोसिबल हेल्थका लागि कार्यरत छन्।)