संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिँदा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको मृत्यु भएपछि गुटेरेसले समवेदना पत्र पठाएका छन्।
गत कात्तिकमा नेपाल भ्रमणमा आउँदा महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेका थिए। उनको सुरक्षाका लागि प्रहरी चौकी घान्द्रुकका इन्चार्ज समेत रहेका असई ढुंगाना पनि शिविरमा पुगेका थिए।
तर त्यहाँबाट फर्किने क्रममा उनको कात्तिक १५ गते लेक लागेर मृत्यु भएको थियो।
उनको मृत्युको खबर पाएपछि महासचिव गुटेरेसले असई ढुंगानाकी श्रीमती राधा पौडेल ढुंगानालाई नोभेम्बर २१ मा समवेदना पत्र पठाएका हुन्।
उक्त समवेदना पत्र सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले एक कार्यक्रम आयोजना गरी असई ढुंगानाकी श्रीमती राधालाई हस्तान्तरण गरिएको थियो।
‘अक्टोबर २९, २०२३ मा अन्नपूर्ण आधार शिविरमा भ्रमणको क्रममा म र मेरो प्रतिनिधि मण्डललाई सहयोग गर्न सुरक्षा टोलीमा खटिएका तपाईंका श्रीमान असई टीकाराम ढुंगानाको मृत्यु भएको खबरले म दु:खी छु,’ उनले भनेका छन्, ‘यो दु:खद् घडीमा तपाईं र परिवारप्रति म हार्दिक समवेदना प्रकट गर्न चाहन्छु।’
पर्वत मोदी गाउँपालिका-६ का असई ढुंगाना ४२ वर्षका थिए।
यो पनि: गुटेरेसको सुरक्षामा अन्नपूर्ण आधार शिविरमा खटिएका असईको लेक लागेर मृत्यु
