चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाले भगिनी सम्बन्ध गाँसेका छन्।
बिहीबार दुई स्थानीय तहका प्रमुखहरूले भगिनी सम्बन्ध स्थापनाको सहमति पत्रमा हस्ताक्षर गरे।
भरतपुर महानगरकी मेयर रेनु दाहाल र माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले आपसी सम्बन्धलाई थप मजबुत पार्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि यो सहमती महत्वपूर्ण हुने विश्वास गरेका छन्।
दुई स्थानीय तहका बीचमा विकासका आफ्ना सफल अभ्यासहरूबाट प्राप्त सिकाइको आदानप्रदान गरी सफल अभ्यासहरूको अवलम्बन गर्नका लागि प्राविधिक सहयोग आदानप्रदान गर्ने, विशिष्ट विकास आयोजनाको सञ्चालन तथा कार्यान्वयन गर्नका लागि दुबै स्थानीय तहबाट संयुक्त रूपमा मिलेर तथा आपसी सहयोग आदानप्रदान गरी सञ्चालन गर्ने कार्यमा सहयोग गर्ने, दमकल र एम्बुलेन्स सेवाको सञ्चालन तथा बस्ती विकासका लागि भू-उपयोग योजना तर्जुमा गर्ने, संयुक्त साझेदारीमा पर्यटन प्रवर्द्धन सहयोग पुग्ने खालका परियोजना सञ्चालन गर्ने सहमति भएको छ।
साथै, भरतपुर र माडीमा रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरूको महत्व र विशेषताका आधारमा दुबै तहबाट प्रचार गर्ने, उत्पादित मौलिक कृषि उपजहरूलाई एक आपसमा बजारीकरण गर्न सहयोग गर्ने, कृषि र पशुपालनका क्षेत्रमा अपनाएका नयाँ प्रविधि, ज्ञान, सीपको सिको गर्दै कृषकहरूलाई तालिम तथा भ्रमणका कार्यक्रम गर्ने, उद्यमशीलता वृद्धि गरी आय आर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्यमशीलताको विकास गर्ने, शिक्षाको क्षेत्रलाई समय सापेक्ष बनाउनका लागि दुबै स्थानीय तहका विद्यालयको अनुगमन तथा प्राविधिक शिक्षाको सञ्चालन, प्रवर्द्धन र विकास गर्ने सहमति भएको छ।
भगिनी सम्बन्ध सुरू भएसँगै माडी नगरपालिकाले भरतपुर महानगरपालिकासँग तीन वटा प्रस्ताव राखेको छ। महतोले रिउ नदी र निकुञ्जको बीचमा रहेको टापु सिमरालाई थारु भिलेजका रूपमा स्थापित गर्न सघाउन आग्रह गरेको बताइन्।
आदिवासी थारुको भूमि मानिने माडीमा सिमरा थारु समुदायको बाहुल्यता रहेको गाउँ हो। यहाँका सबै घरहरू अहिले पनि थारु संस्कृतिको झल्को दिने छन्। यो गाउँलाई थारु भिलेजको रूपमा विकास गर्न माडीको नगरसभाले पास गरिसकेको छ।
माडीमा जडिबुटी पार्क बनाउन र वन्यजन्तु पुनर्स्थापना केन्द्र निर्माणमा सघाउन पनि माडी नगरपालिकाले प्रस्ताव गरेको छ।
महतोले धेरै सम्भावना बोकेको तर आर्थिक अभावले गन्तव्यमा पुग्न नसकेको, विभिन्न ऐन नियमले बाँधेको विकासोन्मुख नगर माडीको विकासका लागि सहयोग आवश्यक भएको बताइन्।
‘यो चितवनभित्रको छायाँमा परेको नगरपालिका हो। हामीले चाहेर पनि माडीलाई धेरै गर्न सकेका छैनौं। मध्यवर्ती भएकाले मन लागेको गर्न मिल्दैन,’ उनले भनिन्, ‘हामी हेपाइमा परेका छौं। नेपालमा कमजोरलाई अझै हेप्ने प्रवृत्ति छ, यसमा सुधार गर्दै विकास गर्नु आवश्यक छ।’
भरतपुरकी मेयर दाहालले स्थानीय शासन ऐनले दिएको व्यवस्थाअनुसार अनुभव आदानप्रदान र सहयोगका लागि सम्बन्ध गाँसिएको बताइन्।
‘हामी छिमेकी हौं, जंगलले साँध सीमाना छुट्टाएको छ। हामी अब दुबै क्षेत्रको विकासका लागि सकारात्मक अभ्यास गर्छौं। एक अर्कामा सहयोग गर्छौं,’ दाहालले भनिन्, ‘माडीमा वन्यजन्तुको जोखिम बढी छ, खोलाको जोखिम बढी छ। यो समस्याको समाधान सामान्य ढंगले सम्भव छैन। मिलेर काम गर्छौं।’
उनले पहिलो चरणमा माडीको सिमरालाई भरतपुर र माडीको मित्रताको प्रतिकका रूपमा ‘संगातीया थारु ग्राम’ का रूपमा विकास गर्न महानगरले सहयोग गर्ने बताइन्।
महानगरले यसअघि चीन र जापानका सहरसँग भगिनी सम्बन्ध गाँसेको थियो। अब बेलायत, अस्ट्रेलिया र देशका विभिन्न नगरहरूसँग सम्बन्ध गाँसेर काम गर्ने तयारी भएको दाहालले बताइन्।
भरतपुरका उपमेयर चित्रशेन अधिकारी भरतपुर र माडीका बीचमा परम्परादेखि नुनतेलको सम्बन्ध रहेको बताउँछन्।
‘भरतपुरका मान्छेहरू माडीको बाटो हुँदै नुनतेल लिन ठोरी जान्थे। अहिले माडीका बासिन्दा उच्च शिक्षा, स्वास्थ्य, व्यापारका लागि भरतपुर जानुहुन्छ,’ उनी भन्छन्, ‘अहिले चितवन निकुञ्जको उचित व्यवस्थापन गर्न, हुलाकी मार्ग निर्माण गर्न, ठोरी नाका खुलाउन हामी बीचको सम्बन्धले नै काम गर्छ।’
महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले दुई स्थानीय तहका जनप्रतिनिधि र प्रशासनको तहमा सम्बन्ध रह्यो भने राम्रो दुबैलाई राम्रो हुने बताए। दुई तहले आपसी समझदारीमा सामाजिक, आर्थिक, सांस्कृतिक विकास गर्न सक्ने र ठूला प्रोजेक्टहरूमा साझेदारी गर्न सक्ने उनले बताए।
माडी नगरपालिकाका उपमेयर खेमप्रसाद महतोले भगिनी सम्बन्धले महानगरको भ्रमण वर्षलाई सफल बनाउन भूमिका खेल्ने बताए।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठले भरतपुरमा आएका पर्यटकलाई माडीमा ल्याउने वातावरण बनाउन यो सहमति फलदायी हुने बताए।
‘लगानी आदानप्रदान, पर्यटन प्रवर्द्धन, गन्तव्य विकासका लागि यो सहमति फलदायी हुनेछ,’ उनले भने, ‘भ्रमण वर्षले व्यवसायी उत्साहित हुनेछन्। सुस्त भइरहेको व्यवसाय चलायमान हुने आशा छ।’