राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन किताब बेच्दै दाङ पुगेका छन्।
आफ्नै जीवनीमा आधारित ‘महावीर पुन’ नामक किताब बेच्न उनी दाङको तुलसीपुर पुगेका हुन्।
वीरगञ्जमा कृषि औजार कारखाना स्थापना गर्ने उद्देश्यले उनी किताब बेचिरहेका छन्।
सुदूरपश्चिमको महेन्द्र नगरबाट आफू दाङसम्म आइपुग्दा ६० हजार बढी किताब बिक्री भइसकेको पुनले बताए। उनले प्रति किताब ७ सय रुपैयाँमा बिक्री गरिरहेका छन्।
शनिबार बिहान आफ्नो किताब बेच्न उनी नेशनल प्याब्सन दाङको १६औं साधारण सभामा पुगेका थिए। त्यस कार्यक्रममा बोल्दै उनले आफ्नो किताब ६० हजार बढी बिक्री भइसकेको बताए।
‘यो देशका एक तिहाइ नागरिक झन्डै तीन लाख जतिले मेरो किताब किनेमा मात्रै करिब १६ करोड जति संकलन हुनेछ,’ पुनले भने, ‘त्यो रकमले वीरगञ्जमा कृषि औजारको कारखाना स्थापना गर्ने उद्देश्य पुरा हुनेछ।’
आफू यसको अभियन्ता भएको र किताब किन्ने हरेक व्यक्ति कृषि कारखाना स्थापनाका हिस्सेदार हुने उनले बताए।
‘सारा युवा विदेश पलायन भइरहँदा निराश युवाहरूमा आफ्नो सोचाइ परिवर्तन गराउनु र उनीहरूमा प्रेरणा थप्नु यतिखेर अति आवश्यक छ,’ उनले भने, ‘जीवनका गोरेटोमा आउने मोडहरूमा मैले के-के गरे, कसरी अमेरिका पढ्न गए र कसरी अगाडि बढे भन्ने कुराहरू यो किताबमा छ।’
कृषि औजार स्थापना हुन सके त्यसमा झन्डै ६ सय जतिले रोजगारी पाउने उनले बताए। हाल सम्पूर्ण कृषि औजारहरू छिमेकी देश भारत र चीनबाट भित्रिने गरेको उनले बताए।
नेपालमै कृषि औजार कारखाना स्थापना भएमा त्यसले कम्तिमा ६/७ प्रतिशत मात्रै आयात रोक्न सकेपनि त्यो मुलुकका लागि ठूलो उपलब्धि हुनसक्ने उनले औंल्याए।
राज्यलाई मात्रै दोष दिएर नहुने भन्दै परिस्थिति अनुरूप हरेक नागरिकले राज्य बनाउन योगदान गर्न जरूरी रहेको उनले बताए।
‘राज्यले लगानी गरिदिएको भए त राम्रो हुन्थ्यो,’ उनले प्रश्न गरे, ‘राज्यले गरेन भन्दैमा सबै सचेत नागरिक चुप लागेर बसे कसरी देशको उन्नति हुन्छ?’