बाजुराको खप्तड छेडेदह गाउँपालिकामा रहेको छेडेदह ताल पहिरोको जोखिममा परेको छ। तालको संरक्षण र पहिरो नियन्त्रणका लागि काम गर्नुपर्ने भए पनि स्थानीयबीचको जग्गा विवादका कारण संरक्षणका काम अघि बढ्न सकेका छैनन्।
स्थानीयले प्रेम तालसमेत भन्ने गरेको यो ताल खप्तड छेडेदह गाउँपालिका–४ र ७ को बीचमा पर्छ। प्राकृतिक सुन्दरता र धार्मिक महत्त्व बोकेको तालमा बझाङ, अछामलगायत जिल्लाबाट समेत पर्यटक पुग्ने गरेका छन्। तर ताल नजिकै पुगेको पहिरो र संरक्षणको अभावले यसको अस्तित्व नै सङ्कटमा पर्न थालेको छ।
स्थानीय राजेश सुनारका अनुसार खप्तड छेडेदह–४ को पड्नापानीमा गएको पहिरो तालको छेउमै पुगिसकेको छ। पहिरोले यसअघि नै करिब ७० परिवारको खेतीयोग्य जमिन बगाइसकेको छ।
'पहिरो तालको छेउमै पुगेकाले अब ताल नै खोलिने जोखिम छ,' उनले भने, 'तत्काल रोकथामको पहल नभए ताल फुटेर सयौँ परिवार विस्थापित हुन सक्छन्।'
ताल संरक्षणमा जग्गा विवाद मुख्य बाधक बनेको छ। खप्तड छेडेदह–४ का वडाध्यक्ष दलबहादुर धामीका अनुसार ताल आसपासको जग्गामा वडा नम्बर ४ र ७ का स्थानीयले आआफ्नो दाबी गर्दै आएका छन्।
'जग्गा विवाद समाधान नहुँदा तालको उचित व्यवस्थापन, संरक्षण र प्रवर्द्धनमा गाउँपालिकाले केही गर्न सकिरहेको छैन,' उनले भने।
उनका अनुसार जग्गाधनीले गाउँपालिकाले नीतिगत निर्णय गरेर जग्गाको मुआब्जा दिनुपर्ने अडान राख्दै आएका छन्। खप्तड छेडेदह–७ का वडाध्यक्ष खगेन्द्र रावतले पनि स्थानीयबीच लामो समयदेखि विवाद रहेकाले समाधानका लागि अघिल्लो कार्यकालदेखि नै पहल हुँदै आए पनि सफल हुन नसकेको बताए।
गाउँपालिकाकी उपाध्यक्ष बिशुदेवी नाथले गाउँपालिकाकै नामकरण गरिएको ताल संरक्षण गर्न नसके भविष्यमा यसको अस्तित्व नै सङ्कटमा पर्ने बताइन्।
गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले पनि जग्गा विवादकै कारण पहिरो नियन्त्रण र ताल संरक्षणका काम अघि बढाउन नसकिएको बताए। उनका अनुसार यसअघि वडाध्यक्षमार्फत सम्बन्धित स्थानीयसँग छलफल सुरु गरिएको थियो। तर सहमति जुट्न नसकेपछि अब केही दिनभित्रै सबै पक्षलाई सहभागी गराएर निर्णायक छलफल गर्ने तयारी गरिएको छ।
'ताल आसपासको जग्गा नापेर आफूहरूले मुआब्जा पाउनुपर्ने स्थानीयको माग छ,' उनले भने, 'जग्गा विवादकै कारण तालको अस्तित्व सङ्कटमा पर्ने जोखिम छ। अब विवादभन्दा पनि सहयोग र समन्वय गरेर संरक्षण र प्रवर्द्धनमा जुट्नुपर्छ।'
अध्यक्ष रावतका अनुसार ताल आसपास पूर्वाधार निर्माणका लागि गाउँपालिका र प्रदेश सरकारले यसअघि पनि साना बजेट विनियोजन गर्दै आएका छन्। पहिरो नियन्त्रणका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार पारेको छ। तर जग्गा विवादकै कारण ताल संरक्षण तथा विकासको डिपिआर तयार हुन सकेको छैन।
छेडेदह ताल प्राकृतिक सौन्दर्यका साथै धार्मिक महत्त्वका कारण पनि परिचित छ। तालको छेउमै खापर मन्दिर छ। बझाङ नजिकै पर्ने यो ताल मार्तडी–थामलेख तथा खप्तड–जयबागेश्वरी–डोगडी–मार्तडी सडकखण्डको छेउमै अवस्थित छ। रारा–खप्तड पदयात्रासँग पनि जोडिएकाले यसको पर्यटकीय महत्त्व थप बढेको छ।
स्थानीय गणेश बुढाका अनुसार ताललाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके बाजुराको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्न सक्छ।
त्यसका लागि तालसम्म पुग्ने सडक र पदमार्ग स्तरोन्नति, सुरक्षित पैदलमार्ग, विश्रामस्थल, खानेपानी, शौचालय, सूचना बोर्ड र फोहोर व्यवस्थापनजस्ता आधारभूत पूर्वाधार आवश्यक छन्। साथै तालको प्राकृतिक स्वरूपमा असर नपर्ने गरी पर्यटकीय संरचना निर्माण र दीर्घकालीन संरक्षण गुरुयोजना बनाउनुपर्ने देखिन्छ।
प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्व बोकेको छेडेदह ताल अहिले संरक्षण र व्यवस्थित विकासको पर्खाइमा छ। जग्गा विवाद समाधान गरी पहिरो नियन्त्रण र ताल संरक्षणमा समयमै काम गर्न सके यो बाजुराको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना छ।