मनसुनी वायु लुम्बिनी प्रदेशसम्म विस्तार भएको छ।
गत जेठ २८ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन बिहीबार लुम्बिनी प्रदेशको पूर्वी भागसम्म विस्तारित भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
‘यस वर्षको मनसुन प्रणाली बिहीबार कोशी प्रदेशको बाँकी भू–भाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा आगमन भएको छ,’ महाशाखाले विशेष बुलेटिन जारी गरेर बताएको छ।
नेपालमा यस वर्षको मनसुन औसत मिति भन्दा तीन दिन छिटो गरी भित्रिएको थियो।
नेपालको बाँकी भू–भागहरूमा मनसुन भित्रिन अझै केही दिन लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
