जाजरकोटमा भाइले कोदालो प्रहार गरी दाजुको हत्या गरेका छन्।
जुनिचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठो बुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी बुद्धिसागर पुरीले जानकारी दिए।
मंगलबार बेलुकी करिब पौने ८ बजे जुनिचाँदे गाउँपालिका–८ पंकस्थित बाटोमा बलेले कोदालो प्रहार गर्दा भबिरामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले राति करिब पौने १० बजे मात्रै सूचना पाएको थियो।
आक्रमणमा प्रयोग भएको कोदालो बारीमा फालेको अवस्थामा प्रहरीले फेला पारेको छ।
हत्यामा संलग्न आरोपित बले फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।