भन्सार छलेर सुन ल्याएको आरोपमा तीन जना पक्राउ परेका छन्।
बाँके खजुरा गाउँपालिका वडा-८ का २४ वर्षीय मोहमद, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१३ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४३ वर्षीय सन्तोष परियार, सोही वडामा बस्ने तनहुँ भानु नगरपालिका-७ घर भएका २५ वर्षीय अन्जिल गुरूङ पक्राउ परेका छन्।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार सिनामंगलबाट पक्राउ गरेको हो।
अपराध अनुसन्धान कार्यालयको प्रहरी उपरीक्षक अंगुर जिसीकाका अनुसार प्रहरीले कतारबाट नेपाल आउने हिमालय एयरलाइन्सको उडानमार्फत् नेपाल आउने केही व्यक्तिहरूले भन्सार छलेर सुन ल्याई कारोबार गरेको गोप्य सूचना पाएको थियो।
सोही सूचनाको आधारमा छानबिन गर्दा मोहम्मद दिलसाद खाँको शरीरमा खानतलासी गर्दा ९ लाख ९९ हजार ३९६ रूपैयाँ बराबरको ६९.८९० ग्राम सुनको ब्रासलेट १ थान, ११.६५० बेरूवा औंठी भेटिएको हो।
'उनलाई पक्राउ गरेपछि सुन ओसारपसार कार्यमा संलग्न भएको परियार र अन्जिललाई पक्राउ गरिएको हो,' उनले भने।
उनीहरूको साथबाट पनि सुन बरामद गरिएको छ।
त्यसैले तीनै जनालाई भन्सार ऐन २०६४ अन्तर्गत कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको उनले जानकारी दिए।