काभ्रेमा ५४ वर्षीय विष्णुप्रसाद सुवेदी मृत फेला परेको एक महिनाभन्दा बढी भयो। तर यो घटनाको अनुसन्धान अझै सुल्झिन सकेको छैन।
दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ राम्पाका सुवेदी गत वैशाख २८ गते मृत भेटिएका थिए। पाँचखाल नगरपालिका वडा नम्बर ४ जिरोकिलोस्थित बिराजे खोल्चा वनमा रूखमा बाँधेर जलेको अवस्थामा सुवेदीको शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका अनुसार यस घटनामा विभिन्न पाटोबाट अनुसन्धान अघि बढाइएको छ। प्राविधिक र म्यानुअल तरिकाले प्रहरीले अनुसन्धान गर्दै आएको छ।
शंकाको घेरामा राखेर थुप्रै मानिसमाथि सोधपुछ गर्ने काम प्रहरीले पर्यो तर कुनै ‘क्लू’ भने फेला पार्न सकेको छैन। ‘यो घटनामा अहिलेसम्म केही पनि सुराक फेला परेको छैन,’ उनले भने, ‘हामीले प्राविधिक विश्लेषण पनि गर्यौं, विभिन्न मानिसहरू ल्याएर सोधपुछ गर्यौं, अझै पनि बुझ्नेक्रम जारी नै छ।’
शव जलेको अवस्थामा फेला परेको हुँदा अन्य हतियार पनि प्रयोग भएन/भएको भन्ने नखुलेको उनी बताउँछन्। घरमै छाडेको उनको फोनको पनि विश्लेषण गरिसकेको उनले बताए। तर शंकास्पद नभेटिएको प्रहरीले जनाएको छ।
यस घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान टोली सुरू देखि नै काभ्रेमा छ। प्रहरी निरीक्षक सुनिल धोजुको कमाण्डमा सिआइबीको तीन जनाको टोली काभ्रेमै बसेर अनुसन्धान गरिरहेको थियो।
शुक्रबार प्रहरी निरीक्षक शान्ता लामाको नेतृत्वमा दुई जनाको थप टोली काभ्रेमा खटिएको सिआइबी प्रवक्ता होबिन्द्र बोगटीले बताए।
‘बुद्धचित्त र महाभारतमा दम्पत्तिको हत्या भएको घटनामा सिआइबीको टोलीले त्यही बसेर अनुसन्धान सकाएको छ। पाँचखालको घटनामा थप टोली गएको छ,’ उनले भने, ‘अहिले नै त्यो घटना हत्या नै हो भन्न सकिने अवस्था छैन।’
उनले यस घटनाको विस्तृत अनुसन्धान गरिरहेको भए पनि अहिले नै हत्या भन्न सकिने अवस्था नरहेको बताए। आत्महत्या हुन सक्ने अवस्थाबारे पनि सिआइबीले तथ्यहरू केलाइरहेको छ।
यद्यपि अहिले नै केही फेला भने नपरेको उनी बताउँछन्।
‘सुसाइड पनि हुनसक्छ, हत्या पनि हुनसक्छ। हामी अनुसन्धानकै क्रममा छौं। यकिन भयो भने यी कारणले हत्या हो वा यो कारणले आत्महत्या हो भनेर बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘प्रहरीको टोलीले परिवारसँग पनि नजिक बसेर अनुसन्धान गरिरहेको छ।’
कसैले हत्या गरी बाँधेको भए किन त्यस्तो गरे वा आत्महत्या नै गरेको भए पनि किन गरे भन्ने कारण खुलाउनतिर पनि प्रहरी लागेको उनले बताए।
जिरोकिलोस्थित सडकबाट करिब ५० मिटर पर मृत फेला परेको उनको मुख र छातीमा फलामको तारले रूखमा बाँधिएको थियो। शरीरमा आगोसमेत लागेको थियो।
सुरूमा उनको पहिचान समेत खुलेको थिएन। घटनास्थलमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट एसपी, डिएसपी, फरेन्सिक डाक्टर लगायतको टोली खटिएको थियो। त्यस्तै तालिम प्राप्त कुकुर समेत झिकाएर स्निफिङ गराइएको थियो। पछि जेठ १ गते मृतकका छोरा सुमनले शवको सनाखत गरिदिएका थिए।
सुवेदीको दाँतबाट सनाखत भएको थियो। सुवेदीको माथिल्लो भागका ३ वटा र तल्लो भागको दायाँपट्टी चार वटा र बायाँपट्टी ५ वटा दाँत नक्कली थियो। अनुहार र शव चिन्न नसकिने अवस्थामा फेला परेकाले उनको सनाखत दाँतबाट गरिएको थियो।
सुवेदी हराएको भनेर वैशाख २४ गते नै जिल्ला प्रहरी कार्यालय काभ्रेमा निवेदन परेको थियो। उनका छोरा सुमनले नै बुवा हराएको भनेर निवेदन दिएका थिए।
सुवेदी उनका छोरासँग ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ टिकाथलीस्थित घरमा बस्दै आएका थिए। तर वैशाख २३ गते उनी टीकाथलीबाट निस्किएका थिए।
उनी आफ्नो फोन नलिइकन ललितपुरबाट दोलखा जान्छु भनेर हिँडेका थिए। सार्वजनिक यातायात चढेका उनले काभ्रेमा एक जना बटुवाको फोनबाट घरमा जानकारी समेत गराएका थिए। तर उनी दोलखा भने पुगेका थिएनन्।
उनी टिकाथलीबाट घर हिँडेकै दिन मृत्यु भएको हुनुपर्ने प्रहरीको आशंका छ। यद्यपि यो घटनामा शव फेला परेको एक महिना भन्दा बढी बितिसक्दा पनि अझै सुल्झाउन प्रहरीलाई हम्मेहम्मे परेको छ।