वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्ग अवरूद्ध भएको छ।
काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गएरातिदेखि सडक अवरुद्ध भएको हो।
सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
पाँचखाल नगरपालिका–८ स्थित उक्त सडकमा पहिरो खसेर करिब एक सय ५० मिटर सडक अवरुद्ध भएको हो।
गएराति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन्। साना सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जनाएको छ। प्रवक्ता श्रेष्ठका अनुसार पहिरो खस्न केही कम भएकाले मंगलबार बिहानदेखि मेसिनद्वारा पहिरो पन्छाउन थालिने छ।