बाँकेस्थित जयन्दु बाल सुधार गृहमा कैदीबन्दीबीच झडप भएको छ।
गएराति डडुवा गाउँपालिका-६ स्थित सुधार गृहमा खाना खाने विषयमा कैदीबन्दीबीच झडप भएको थियो।
झडपपछि ६० जना कैदीबन्दीहरू सुधार गृहबाट निस्किएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले जानकारी दिए।
तीमध्ये ५८ जनालाई नियन्त्रणमा लिइसकेको उनले बताए। २ जना कैदीबन्दीको अझै खोजी जारी रहेको एसपी कार्कीले बताए।
जयन्दु बालसुधार गृहको प्रमुख बिमला काउचामगरका अनुसार अहिलेसम्म फरार दुई बालकैदी भारतीय नागरिक हुन्। उनीहरू डेढ वर्षदेखि सोही बाल सुधार गृहमा बस्दै आएका थिए।
लामो समयदेखि सुधार गृहमा बस्दै आएका बालबालिकाहरूले आ-आफ्नो समूह बनाएका छन्। तीमध्ये चार जनाको समूहले चौकीदारलाई कुटपिट गर्ने क्रममा झडपले बृहत् रूप लिएको हो।
कैदीबन्दीहरूबीच असल चालचलन भएको एक जनालाई चौकीदार तोक्ने गरिएको छ। उनीहरूको आ-आफ्नै समूह हुन्छ। चौकीदारले त्यहाँभित्रका बालकैदीहरूलाई दैनिकीबारे जानकारी दिने र रेखदेख गर्ने काम गर्ने प्रमुख काउचामगर बताउँछिन्।
'ती समूहले चौकीदारलाई रूचाएका थिएनन्, त्यही कारण उनीमाथि हातपात भएको हो,' उनले भनिन्, 'ती समूह एकदमै रिसाहा छन्।'
उनीहरूले चौकीदारसहित अन्य चार जनालाई घाइते बनाएका छन्।
सोमबार झडप गर्ने चार जना मुख्य व्यक्ति हुन्। झगडाले बृहत् रूप लिएर ताला फोडेपछि अन्य व्यक्तिहरू पनि भागेको उनले बताइन्।
अहिले ती मुख्य चार जना व्यक्ति नै नियन्त्रणमा आइसकेका छन्। मुख्य चार जनामध्ये दुई जना पटकपटक चोरी मुद्दामा सजाय काटिरहेका छन् भने एक व्यक्ति कर्तव्य ज्यानको मुद्दा खेपिरहेका छन्।
त्यस्तै अर्का व्यक्तिको किर्ते कागजातको मुद्दा भोगिरहेका छन्।
उनीहरूलाई चौकीदारको व्यवहार मन नपरेपछि योजना बनाएरै कुटपिट गरेको उनको भनाइ छ। उक्त चौकीदार गत असोजदेखि राखिएको हो।
गत असोजमा पनि झगडा परेर ताला तोडफोड गरेर भागेपछि नयाँ चौकीदारलाई राखिएको थियो। नयाँ चौकीदारले गृहभित्र लागुऔषध सेवन तथा औसारपसारमा शून्य बनाएका थिए। सायद त्यसैको रिस साँधेको हुनसक्ने उनको अनुमान छ।