पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रूपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वड नम्बर ४, डिङ्गरनगरका २१ वर्षीय विवेक अधिकारी रहेको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा परी उनकै बहिनी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते भएकी छन्।
बुधबार बेलुकी सवा ६ बजेतिर लु ८६ प ६५१ नम्बरको स्कुटीमा विवेक र रश्मी बुटवलबाट पाल्पातर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए।
प्रहरीका अनुसार बुटवलबाट पाल्पातर्फ नै गइरहेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई उछिन्ने क्रममा उनीहरूलाई ट्रकले ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको थियो। अस्पतालले विवेकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले बताए।
बहिनी रश्मीको उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए।