नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट बिहान २ बजेतिर त्रिशूली नदीमा खसेका भनिएका बसहरू अहिलेसम्म फेला परेका छैनन्।
केहीबेर अघि बसको पर्दा र बच्चाको कपडा मात्र फेला परे पनि बस भने भेटिएका छैनन्।
अहिलेलाई खोज्ने काम स्थगित गरिएको एपिएफका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
‘रात पर्न लागेकोले आजलाई बस खोज्ने काम स्थगित गरिएको छ,’ उनले भने, ‘भोलि सिडिओसँग छलफल गरेर अगाडि बढ्छौं।’
यस्तै सिडिओ कार्यालय चितवनका सिडिओ इन्द्रदेव यादवले नदीमा पानीको बहाव तह उच्च रहेको, तीव्र गतिमा बहाव रहेको, धमिलो पानी भएर पनि खोजी कार्यमा समस्या आएकोले अहिलेलाई खोजी गर्ने काम रोकिएको बताए।
‘आज वीरगन्जको एन्जल्स गाडीको झ्यालको पर्दा र करिब १० वर्ष बच्चाको तलको ट्र्याक सूट फेला परेको छ, त्यस अर्थमा एन्जेल बसको लोकसेन त्यही हो कि भन्ने अनुमान गर्न सकिन्छ, भोलि बिहान यसको प्रमाणीकरण हुन सक्छ,’ उनले भने।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बिहानैदेखि डुंगामार्फत् खोजी गरिरहेका थिए।
केही प्रत्यक्षदर्शीले दिएको सूचनाका आधारमा सुरक्षाकर्मीले बस र त्यसमा सवार यात्रुहरू खोजिरहेका थिए।
गएराति साढे ३ बजे भरतपुर महानगरपालिक-२९ सिमलतालमा सडकमाथिबाट खसेको पहिरोसँगै दुइटा बस त्रिशूली नदीमा खसेको भनिएको थियो।
वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुवाहक बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस त्रिशूलीमा खसेको थियो।