ललितपुरमा लाषुऔषध प्रयोगकर्ताहरू बढेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा लागुऔषधका मुद्दा दर्ताको संख्या दोब्बरले बढेको हो।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा लागु औषध सम्बन्धी कसुरमा ५४ वटा मुद्दा दर्ता भएको थियो। यस आर्थिक वर्षमा ११६ वटा मुद्दा दर्ता भएको परिसर एसपी नरेशराज सुवेदीले जानकारी दिए।
११६ वटा कसुर मुद्दा दर्ता हुँदा २०३ जना पक्राउ परी कानुनी दायरामा आएका छन्।
पक्राउ संख्या गत आ.व.को भन्दा तेब्बर रहेको एसपी सुवेदीले बताए।
लागुऔषध प्रयोगकर्ताहरूले गाँजा, हेरोइन, डाइजापाम, नुरफिन, फेनारगन, नाइट्राभेट, एनफेटामाइन, ट्रामाडोल, क्लोनाजेपाम, अल्प्राजोलाम, कोडिन, प्रिफन, स्पासमोल, एन्टिकप, प्रोगालिन, ट्रपेण्डोल, ओपिक्याप, टपेनटाडोल, इकोलिक, प्रोमेगेन, वोमिन, स्पासपेन जस्ता लागुऔषधहरू प्रयोग गरेको मुद्दा दर्ता अभिलेखबाट देखिन्छ।
लागुऔषध प्रयोगकर्ताको कारण समाजमा झैझगडा, हत्या हिंसा, चोरी डकैती, यौन दुर्व्यवहार जस्ता घटनाहरू बढाउने एसपी सुवेदीले बताए। प्रहरीले लागुऔषधको जोखिममा परेका समुहको पहिचान गरी विभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरू गर्दै आएको छ।
साथै स्कुल, समुदाय लक्षित कार्यक्रमहरू नियमित रुपमा संचालन गरिरहेको छ।