महोत्तरीमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ।
आइतबार राति साढे १० बजे सोनमा गाउँपालिका वडा नम्बर ५ खैरवनीस्थित सर्लाही-महोत्तरी सिमाना सितलपुरमा प्रहरीले गोली चलाएको हो।
प्रहरीले गोली चलाएर सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर २ बस्ने ४० वर्षीय विजेन्द्र पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए।
मधेसका जिल्लाहरू बारा, सर्लाही, महोत्तरी, सिरहा र बागमती प्रदेशको सिन्धुलीमा समेत पटकपटक डकैती हुने गरेको थियो। ती डकैतीमा विजेन्द्रको संलग्नता देखिएको डिएसपी जैसवारले जानकारी दिए।
सितलपुरमा महोत्तरीबाट खटिएको प्रहरीको टोलिसँग विजेन्द्रको भेट भएको थियो।
प्रहरी देखेर विजेन्द्र भागेका थिए। भागेपछि प्रहरीले एक राउन्ड गोली चलाएको थियो।
गोली विजेन्द्रको घुँडा मुनि लागेर घाइते छन्। उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ।
डिएसपी जैसवारका अनुसार विजेन्द्रले २०५९ देखि २०७८ सम्म पटकपटक डकैती गरेको रेकर्ड छ।
बारामा दुई, सर्लाहीमा एक, महोत्तरीमा दुई, सिरहामा एक र सिन्धुलीमा एक गरी सात वटा लुटपाट तथा डकैती गरेको अभिलेखमा उल्लेख छ। उनले नेपालमा मात्रै नभएर भारतमा समेत डकैती गरेको प्रहरीले जनाएको छ।