जिल्ला प्रशासन कार्यालय चितवनले नारायणघाट-मुग्लिन सडकको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुइटा बसमा सवार ६५ जना यात्रुको विवरण सार्वजनिक गरेको छ।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नामको बसमा चलानमा भए बमोजिम २७ जना र त्यसबाहेक आफन्तजनले सम्पर्कमा आएर विवरण दिएका आधारमा ११ जना गरी ३८ जनाको विवरण प्रशासनले सार्वजनिक गरेको छ।
त्यस्तै काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स नामको बसमा चलानमा भए बमोजिम २३ जना र आफन्तजनले सम्पर्कमा आएर विवरण दिएका आधारमा ४ जना गरी २७ जनाको विवरण छ।
कुल ६५ जनामध्ये तीन जना दुर्घटनामा बच्न सफल भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
अहिले बेपत्ता खोजीका लागि ५ सय जनाभन्दा बढी सुरक्षाकर्मी खटिएका छन्। सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनासहितको टोली सिमलतालदेखि गोलाघाटसम्म खटिएका छन्। शवहरू नारायणी नदीदेखि भारतको गण्डक तलसम्म फेला परिरहेका छन्। सोमबार मात्रै तीन जनाको गरी कुल १४ जनाको शव फेला परेको छ।
तीमध्ये ६ जनाको सनाखत भएको प्रशासन कार्यालयले जनाएको छ। अर्का एक जनाको नाम खुलेको र दुई छुट्टाछुट्टै आफन्तले शवको दाबी गरेकाले दुबिधा उत्पन्न भएको छ।
हालसम्म सनाखत हुनेमा भारतका २८ वर्षीय ऋषिपाल शाह, चितवनका २२ वर्षीय विकास परियार, सर्लाहीका १९ वर्षीय रमितकुमार माझी, भारतका ३० वर्षीय जयप्रकाश ठाकुर, भारतकै ३० वर्षीय सजाद अन्सारी र भरतपुरका २२ वर्षीय सुदिप विक छन्।
१७ वर्षीय फिरोज राहुप मिया भनिएकाको शव भने दुई फरक आफन्तले दाबी गरेकाले दुबिधा भएको हो।
त्यस्तै एउटा शवको नाम परमानन्द पण्डित भएको खुले पनि पूर्ण सनाखत हुन बाँकी छ।
गत शुक्रबार बिहान साढे ३ बजे पहिरोले बगाएर खसेका दुइटा बस तीन दिन बित्दा पनि फेला पर्न सकेका छैनन्। बस र बेपत्ताको खोजीका लागि सुरक्षाकर्मीले ड्रोन, वाटर ड्रोन, सोनार क्यामरा, राफ्ट बोट, ठूलो चुम्बक लगायत प्रयोग गरिरहेका छन्।
सूची: