झापामा पछिल्लो भारी वर्षा मापन भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिश्चरेमा पछिल्लो ६ घन्टामा १०१ मिलिमिटर वर्षा भएको हो।
भारी वर्षाका कारण निन्दा खोलामा जलसतहले खतराको तह पार गरेको छ।
बाढी पूर्वानुमान महाशाखका अनुसार उक्त खोलाको जलसतह समुद्री सतहबाट १२५.७९ मिटर पुगेको छ।
खोलाको खतरा तह १२२.५ मिटर तोकिएकोमा बिहीबार बिहान उक्त तह पार गरेको र अझै बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ।
पछिल्लो चौबिस घन्टामा सिन्धुपाल्चोकको मानेखर्कमा ६३ मिलिमिटर, उदयपुरको मुर्कुची बजारमा ५१.८ मिलिमिटर, सिन्धुपाल्चोकको धापमा ४४.८ मिलिमिटर, काठमाडौंको पानीपोखरीमा ६३ मिलिमिटर, गोरखाको आरूघाटमा ४० मिलिमिटर, बाँकेको सिक्टामा ६२.८ मिलिमिटर, डोटीको दिपायलमा ७१.६ मिलिमिटर, कास्कीको ज्यामिरेबारीमा ३९.६ मिलिमिटर वर्षा मापन भएको छ।

१० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने अति भारी वर्षा भनिन्छ।
आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा र राति कोशी, मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।