सडकको लेन अनुसार सवारी साधन नचलाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै रूपन्देहीमा चालकहरूलाई लेन अनुशासन शिक्षा प्रदान गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रूपन्देही, जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सडकमै पुगेर चालकहरूलाई लेनको बारेमा जानकारी गराएका हुन्।
गत असार २६ गतेदेखि भैरहवाबाट अभियानको रूपमा ‘मेरो सवारी, मेरो लेन’ सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। यो अवधिमा सडकमा गुड्ने साना-ठूला सबै किसिमका सवारी साधनका चालकलाई लेन अनुशासन सिकाइएको थियो।
‘फराकिलो सडकमा जुन पायो त्यही लेनबाट तीव्र गतिमा सवारी साधन हाँक्दा दुर्घटनाको जोखिम बढिरह्यो, कुन साधन कुन लेनबाट र कति गतिमा चलाउने भन्नेबारे चालकहरू नै अनविज्ञ रहेकोले सडकमै पुगेर उनीहरूलाई सचेत बनाउन थालिएको हो,’ रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने।
लेन अनुशासनलाई प्रभावकारी बनाउने, ट्राफिक नियम उल्लंघन गर्ने चालकको बानीलाई सुधार गर्ने र यसबाट हुनसक्ने दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यसहित सुरू गरिएको सचेतना अभियानबाट एक सातामा ३१ हजार १९५ चालकलाई सडकको लेनबारे जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।
अभियानका क्रममा ११ हजार ६१२ ठूला र १९ हजार ५८३ वटा साना सवारी साधनका चालकलाई लेन अनुशासन सम्बन्धी शिक्षा दिइएको हो।
‘अभियान निकै प्रभावकारी भएको र धेरै जनाले अभियानबाट लाभ लिनुभयो भन्ने हामीलाई लाग्छ,’ अर्यालले भने, ‘नेपालमा ६ लेन धेरै सहरमा नभएकोले लेनबारे सबैलाई थाहा थिएन। थाहा नभएकोले यही अभियानबाट लेनबारे जानकारी पाउनुभयो, थाहा पाएर पनि उल्लंघन गर्नेले उल्लंघन गर्नुहुँदैन भन्ने शिक्षा पाउनुभयो। यसैले पनि कार्यक्रम फलदायी भयो।’
अर्यालले ट्राफिक प्रहरीले मात्रै होइन, यातायात व्यवसायी, व्यापारिक संघसंस्था, विद्यालय, टोल समाज, सामाजिक संस्था सबैले यस्ता अभियान सञ्चालन गरिरहनुपर्ने बताए। यस्ता अभियानले सडकको अनुशासन उल्लंघन गरी सवारी साधन चलाउँदा हुने दुर्घटनालाई न्यूनीकरण गर्ने अर्यालले बताए।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले पछिल्लो समय कच्ची र साँघुरा सडकभन्दा चिल्ला र फराकिला सडकहरूमा हुने गरेका दुर्घटना लेन अनुशासन उल्लंघन गरेकै कारण बढिरहेकोले लेन उल्लंघनका घटना शून्य नहुँदासम्म अभियानलाई निरन्तरता दिइने बताए।
‘हामीले सचेतना अभियान पटक/पटक सञ्चालन गर्दै आइरहेका छौं तर चालक र सडक प्रयोगकर्ता जबसम्म सचेत हुँदैनन्, अभियानले सार्थकता पाउँदैन,’ उनले भने।
पहिलो पटक भएकोले अभियानका क्रममा लेन अनुशासन पालना नगर्नेलाई सम्झाइबुझाइ गरी छोडिएको भए पनि अब भने सचेतनासँगै कारबाही पनि गरिने एसपी खत्रीले बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिरसिंह विष्टले अभियानको क्रममा ट्राफिक सचेतना सम्बन्धी ६ हजार पर्चा बाँडिएको र ५ हजार सवारीमा ‘मेरो सवारी, मेरो लेन’ लेखिएको स्किर टाँसिएको जानकारी दिए।
यस्तै, लेन अनुशासन पालना गर्ने २ सय सवारी चालकलाई सवारीको चाबी राख्ने किरिङ दिइएको छ।
‘अनुशासनमा रहेर सवारी चलाउँदा सुरक्षित भइन्छ र सम्मान पनि पाइन्छ भन्ने हेतुले किरिङ उपहार दिएका हौं,’ विष्टले भने।
भैरहवाबाट सुरू गरी बुटवल, तिलोत्तमा, लुम्बिनी, देवदह, रोहिणी, मायादेवी, सैनामैना लगायत सवारी साधनको बढी चाप हुने र फराकिलो सडक भएका मुख्य सहरी इलाका, राजमार्ग, हुलाकी सडक लगायतका दुई दर्जन बढी क्षेत्रम पुगेर लेन अनुशासनबारे सचेतना प्रदान गरिएको थियो।
‘यो अभियानले चालकलाई कुन सवारी साधन कुन लेनबाट र कतिको गतिमा चलाउनुपर्छ भन्ने शिक्षा मिलेको हामीले अपेक्षा गरेका छौं,’ विष्टले भने।
अभियानले लेन अनुशासन पालना गर्नेहरू बढेको र आगामी दिनमा पनि लेन अनुशासन उल्लंघन गरेकै कारण दुर्घटना हुनेहरूको संख्यामा कमी आउने आफूहरूको विश्वास रहेको विष्टले बताए।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले यो अभियानबाट सबैभन्दा बढी यातायात व्यवसायी लाभान्वित भएको बताए।
‘दुर्घटना जति कम भयो त्यसबाट सबैभन्दा बढी लाभ यातायात व्यवसायीलाई नै हुने हो, यसअघि लेन अनुशासन पालना नगर्दा दुर्घटना हुने गरेकोमा अब लेन उल्लंघनका कारण हुने दुर्घटना कम हुन्छन् भन्ने हाम्रो विश्वास छ,’ खरेलले भने।