तुलसीपुर उपमहानगरपालिकाले आफ्नो भवन अगाडिका व्यापारिक सटरहरू भत्काउन सुरू गरेको छ।
मेयर टीकाराम खड्काले सर्वसाधारणको सुविधाका लागि सटरहरू भत्काउन थालिएको बताए।
‘स्थानीय सरकारकै अगाडि सटरहरू भाडामा लगाउँदा त्यसले फुटपाथ अतिक्रमण भयो र सर्वसाधारण मानिसलाई हिँड्डुल गर्न मुस्किल हुन थाल्यो,’ उनले भने, ‘बजारमा व्यापारीलाई फुटपाथ अतिक्रमण गर्न पाइने भनेर भत्काउने तर आफ्नै अगाडि फुटपाथ मिचेर पैसाको लागि भाडामा लगाउनु विरोधाभासपूर्ण थियो। त्यही भएर भत्काइएको हो।’
ती सटरहरूबाट नगरपालिकालाई वार्षिक दश लाख बढी भाडाबापत पैसा लिन्थ्यो।
मेयर खड्काले त्यो ठाउँ उपमहानगरमा आउने सेवाग्राहीका लागि पार्किङका लागि प्रयोग गरिने बताए।
बजारमा पार्किङको सुविधा नहुँदा सडकमै पार्किङ गर्नुपर्ने असहज स्थिति रहेको हुँदा कम्तीमा उपमहागनरपालिका अगाडि मनपरी पार्किङ नहोस् र पर्खालभित्रै सर्वसाधारणले सवारी साधन सुरक्षित रूपमा पार्किङ गर्न सकून् भन्ने सोचले काम भइरहेको उपमहानगरले जनाएको छ।
सटरहरू भत्काउनेबारे उपमहानगरपालिकाले तीन महिना अगाडिदेखि पहल थालेको थियो। उपमहानगरले सुरूमा १५ दिनको हदम्याद दिएर सार्वजनिक सूचना पनि जारी गरेको थियो। तर, व्यापारीहरूले त्यो समय अपर्याप्त भएको भन्दै थप समय दिन माग गरेका थिए। त्यसपछि फेरि उपमहागनरपालिकाले थप डेढ महिना समय दिएको थियो।
-1721374276.jpg)
-1721374276.jpg)
-1721374277.jpg)