काठमाडौं महानगरपालिकाको फुटपाथ बढाउने क्रममा मेयरले भ्रम फैलाउन खोजेको आरोप लगाएका छन्।
आइतबार फुटपाथ बढाउने विषयमा महानगर प्रमुख बालेन शाहले भ्रम सिर्जना गरेको भन्दै वडा २२, २३ र २४ का स्थानीयहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्।
महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने काम सुरू गरेसँगै डिभिजन कार्यालयले काम रोकेको थियो। त्यसपछि डिभिजन कार्यालयको कार्यालयविरूद्ध मुद्दा हालेको थियो। त्यसपछि महानगरको पक्षमा उच्च अदालत पाटनले आदेश दिएसँगै फुटपाथ विस्तारको काम अघि बढेको थियो। त्यसपछि फुटपाथ विस्तार गर्न खोजेको विषयमा शुक्रबारदेखि फेरि महानगर र न्यूरोडका व्यवसायी र स्थानीयबीच विवाद चलिरहेको छ। यस विषयमा मेयर बालेन शाहले भ्रम फैलाउन खोजेको उनीहरूको आरोप छ।
उक्त विज्ञप्तिमा महानगरपालिका र स्थानीयीबीच झगडा कसरी सुरूआत भएको भनेर उल्लेख गरिएको छ।
आर्थिक वर्ष २०८०/८१ मा न्यूरोडको पेटी सुधार शीर्षकमा केही रकम प्रस्ताव गरिएको थियो। नगरसभामा न्यूरोड पेटी सुधार शीर्षकमा प्रस्ताव गरिएको बजेट पुस्तिका आउँदा पेटी विस्तार छापेर आएको उनीहरूले बताएका छन्।
बजेट पुस्तिकामा फरक छापिएर आएसँगै सम्बन्धित तीनै वडाअध्यक्षहरूले यस विषयमा महानगर प्रमुख र विभागीय कर्मचारीलाई प्रष्ट पारिदिन उल्लेख गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यतिबेला महानगर कर्मचारीले अहिले बजेट विनियोजन मात्र रहेको र पछि वडासँग समन्वय गरेर मात्र काम सुरू गर्ने भनेर जवाफ दिएको भनिएको छ। मेयरले पटकपटक यही जवाफ दिँदै आएको तर एक्कासी वडा कार्यालयसँग समन्वय नै नगरी नगरसभाबाट पारित भैसकेकाले कार्यान्वयन गर्नुपर्ने अडान मेयरले लिएको आरोप लगाएका छन्।
उक्त योजना खारेज गर्न पालिकाका ४२ मध्ये ३८ जना सदस्यहरूले हस्ताक्षर गरी पत्र बुझाउँदा नगरप्रमुखले स्वीकार गरेको थिए। यसरी बजेट प्रस्ताव चरणदेखि नै मेयरले भ्रमको खेती गर्दै आएको विज्ञप्तिमा लेखिएको छ।
पेटी विस्तार जस्तो सामान्य विषयलाई राष्ट्रिय बहसको विषयको बनाएको भन्दै तीनै वटा वडाअध्यक्षहरूले आपत्ति जनाएका हुन्। अहिले वडाध्यक्षहरूले आपत्ति जनाउन थालेपछि प्रमुखले अलग-अलग भेटेर फरक फरक कुरा गरिरहेको उनीहरूले विज्ञप्ति मार्फत भनेका छन्।
यसमा महानगर प्रमुखले आफ्ना मिडियाकर्मीहरूलाई एकोहोरो ढंगले अतिरंजित बनाई प्रचारप्रसार गर्ने र राजनीतिक दलका नेताविरूद्ध गाली गर्दै अशोभनिय कार्य गरेको पनि आरोप लगाएका छन्।
यो पनिः
बालेनले सुरू गरेको न्यूरोड पुनर्जन्मको बाटो