सर्वोच्च अदालतले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस भएर पनि प्रहरी नायब महानिरीक्षक (डिआइजी) मै अवकासमा गएका पोषराज पोखरेलको रिट दर्ता गर्न आदेश दिएको छ।
गत असार २० गते डिआइजीबाट अवकासमा गएका पोखरेलले बढुवा सिफारिस भएर पनि बढुवा नगरेको भन्दै प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले आइतबार सर्वोच्चमा उक्त रिट लिएर पुगेका थिए।
तर सर्वोच्चले उक्त रिट दरपीठ गरेको थियो। त्यसविरूद्ध पुन: निवेदन दिएपछि मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको थियो।
उक्त इजलासले मागबमोजिम नै रिट दायर गर्न आदेश दिएको हो।
गत असार १८ गते एआइजी उमेशराज जोशी ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकासमा गएका थिए। उनी अवकासमा जानुअघि नै डिआइजी पोषराज पोखरेललाई असार १० गते बसेको समितिको बैठकले बढुवा गर्न सिफारिस गरेको थियो।
तर पछि मन्त्रिपरिषद बैठकले निर्णय नगर्दा उनी फुली लगाउन नपाउँदै असार २० गते डिआइजीबाटै अवकासमा गए।
नेपाल प्रहरीमा एआइजीको एक दरबन्दी खाली छ। जसमा सोमबार बसेको बढुवा समितिको बैठकले डिआइजी रामदत्त जोशीलाई बढुवा गर्न सिफारिस गरेको छ।
जोशी कात्तिक १८ गते अवकासमा जानेछन्। हाल जोशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख छन्।