एक लाख घुस रकमसहित पक्राउ परेका इन्जिनियरविरूद्ध मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार ताप्लेजुङ फुङलिङ नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा कार्यरत (अधिकृतस्तर छैटौं) इन्जिनियर मो.अख्तर हुसैनविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग उनले घुस माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो। घुस माग गरेको सूचनाको आधारमा खटिएको अख्तियारको टोलीले उनलाई एक लाख रकम घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।
अनुसन्धानको सिलसिलामा उनले खेल मैदान निर्माण कार्य सम्पन्न पछि भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
उनीविरूद्ध एक लाख बिगो र कैद सजाय समेतको माग गरी अदालतमा मुद्दा दायर गरेको हो।