काठमाडौंमा लागुऔषध खाएर कार चलाउँदा दुर्घटना भएपछि प्रहरीले चालकलाई पक्राउ गरेको छ।
गएराति काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थित कालिमाटीदेखि कुलेश्वरतर्फ जाँदै गरेको कार दुर्घटना भएको थियो।
कारले पैदल हिँड्दै गरेका तीन जनालाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार बल्खु बस्ने ४८ वर्षीय भुपेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
बा च ५९१६ नम्बरको कारबाट प्रहरीले नाइट्राभेट १० लेखिएको एक पत्ता फेला पारेको हो।
दुर्घटनामा भारत घर भई डल्लु बस्ने १८ वर्षीय प्रियन्सु कुमार, २५ वर्षीय भोला कुमार र १९ वर्षीय श्यामबाबु ठाकुर घाइते भएका हुन्।
उनीहरूको उपचारको लागि बयोधा अस्पतालमा पठाइएको छ।
प्रहरीले कार चालक श्रेष्ठको स्वास्थ्य परीक्षण समेत गरेको थियो। जसबाट उनले बेनजोडियाजेपाइन्स नामक औषधि सेवन गरेको देखिएको एसपी अधिकारीले बताए।
उनले लागुऔषध सेवन गरी सवारी चलाउँदा सडकपेटीमा हिँडिरहेका पैदल यात्रुलाई ठक्कर दिएको प्रहरीको निष्कर्ष छ।