गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ सिङ्लास्थित रेसेफाँटमा लेदोसहित पहिरोले एक घर र एक कृषि फार्म पुर्दा एकै घरका तीन जनासहित पाँच जना बेपत्ता छन्।
गए राति लेदोसहित पहरोले घर र फार्म पुरेको थियो। सडक खनेको नान्सेन जंगलबाट लेदोसहित पहिरो गाउँ पसेको थियो।
स्थानीय जितबहादुर गुरूङसहित उनको परिवारका तीन जनासहित पाँच जना बेपत्ता छन्।
एकै परिवारका जितबहादुर गुरूङ, उनकी श्रीमती कान्छीमाया गुरूङ, उनका बुवा सुलाल कान्छा गुरूङ बेपत्ता छन्। सोही गाउँका रमेश गुरूङ र रमेश परियार पनि बेपत्ता रहेको प्रहरीले जनाएको छ।
पहिरोमा परेका दुई जनालाई भने उद्धार गरिएको छ।
गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरूङले दुई जनालाई उद्धार गरेर काठमाडौं पठाइएको सेतोपाटीलाई जानकारी दिइन्।
सिङ्लाका दिलीप गुरुङ र छामबहादुर गुरुङलाई कैलाश एयरको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं लगिएको उनले बताइन्।
घटनास्थलमा प्रहरी चौकी माछीखोला, लाप्राकलगायत ठाउँबाट प्रहरी र जनप्रतिनिधि पुगेका छन्।
यसैबीच काठमाडौंस्थित ग्राण्डी अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले घाइतेलाई भेटेका छन्।