जल तथा मौसम विज्ञान विभाग, हावापानी विज्ञान महाशाखाका अनुसार आइतबारसम्म सरदर वर्षाको तुलनामा ५५.९ प्रतिशत वर्षा भएको छ।
अहिलेसम्म १ हजार ३१.४ मिलिमिटर वर्षा भएको हावापानी विश्लेषण शाखाले जानकारी दिएको हो।
यो तथ्यांक २० वटा मौसम केन्द्रमा मापन गरिएको मनसुन अवधिको दैनिक सञ्चित सरदर वर्षाको आधारमा तयार पारिएको महाशाखाले बताएको छ।
महाशाखाका अनुसार जेठ र असारमा सरदरभन्दा मुनि वर्षा भएको थियो। साउन लागेपछि भने सरदरभन्दा बढी वर्षा भएको छ।
यस वर्ष सरदरभन्दा ५५ प्रतिशतसम्म बढी हुने प्रक्षेपण मौसम पूर्वामान महाशाखाले गत वैशाख ३१ गते नै गरेको थियो।
केन्द्रगत आधारमा विश्लेषण गर्दा भैरहवा विमानस्थलमा सरदरभन्दा बढी वर्षा मापन भएको छ। कास्कीको लुम्ले क्षेत्रमा सरदरभन्दा कम वर्षा मापन भएको छ।
धनकुटमा पनि सरदरभन्दा कम वर्षा भएको छ। डडेलधुरा केन्द्रमा सरदरभन्दा माथि वर्षा भएको रेकर्ड छ।
धरानबजारमा सरदरभन्दा बढी वर्षा देखिएको छ। उता दोलखाको जिरी क्षेत्रमा सरदरभन्दा कम वर्षा भएको छ।
दाङको घोराहीमा सरदरभन्दा बढी वर्षा भएको छ। सिमरा केन्द्रमा सरदरभन्दा कम वर्षा मापन भएको छ।
जुम्लामा पनि सरदरभन्दा कम वर्षा भएको छ भने जोमसोममा पनि सरदरभन्दा कम नै वर्षा मापन भएको छ।
काठमाडौं र दिपायलमा सरदरभन्दा बढी वर्षा भएको छ। ओखलढुंगामा सरदर नै वर्षा भएको छ। धनगढीमा सरदरभन्दा बढी वर्षा देखिएको छ। पोखरा विमानस्थलमा पनि सरदरभन्दा बढी वर्षा देखिएको छ। जनकपुर विमानस्थल केन्द्रमा पनि सरदरभन्दा बढी नै वर्षा भएको छ।
सुर्खेत विमानस्थलमा सरदरभन्दा कम र विराटनगर विमानस्थलमा सरदरभन्दा निकै बढी वर्षा मापन भएको छ। ताप्लेजुङमा सरदरभन्दा बढी वर्षा भएको छ भने नेपालगञ्जमा कम पानी परेको छ।
नेपालमा सामान्यतया मनसुन अवधि जेठ १९ देखि र असोज १४ गतेसम्म रहने महाशाखाले जनाएको छ।
गत वर्ष मनसुन अवधिमा सरदरभन्दा कम पानी परेको थियो। अघिल्लो वर्ष १ हजार ३०३ मिलिमिटर वर्षा भएको थियो। यो भनेको ८८.५ प्रतिशत हो।
नेपालमा मनसुन अवधिमा १ हजार ४७२ मिलिमिट वर्षा हुने अनुमान गरिन्छ। यस वर्ष सरदरभन्दा छिटो मनसुन नेपाल भित्रिएको थियो।
यस वर्ष ७७ रेकर्ड ब्रेक वर्षासमेत भएको छ।
गत असार २४ गते बिहान ८ः४५ बजे कञ्चनपुरको दोधारा केन्द्रमा ६२४ मिलिमिटर वर्षा भएको थियो। त्यसै दिन कञ्चनपुरकै हनुमाननगर वर्षा केन्द्रमा ५७३.६ मिलिमिटर र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मिमी वर्षा मापन भएको थियो।