जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जल सतह बढ्ने पूर्वानुमान गरेको छ।
यस्तै कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्दो हुने भएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता रहन आग्रह गरेको छ।
सोमबार रामेछाप, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, लमजुङ, र आसपासका जिल्ला भई बहने नदीको जल सतह बढ्ने पूर्वानुमान गरेको छ।
भोजपुर, खोटाङ सोलुखुम्बु, सिन्धुली, धादिङ, काठमाडौं, भक्तपुर, कास्की, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, दैलेख, कालिकोट, डोटी, डडेल्धुरा, बैतडी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान पनि गरेको छ।
यी जिल्ला आसपास मध्यमदेखि भारी वर्षासमेतको आकलन गरेकाले केन्द्रले बाढीको जोखिम औंल्याएको हो।
पछिल्लो २४ घन्टामा कहाँ कति पानी पर्यो?
पछिल्लो २४ घन्टामा सिन्धुपाल्चोक, दैलेख, गोरखा, दोलखा जिल्लामा भारी वर्षा भएको छ।
सिन्धुपाल्चोकको बाहुनेपाटी केन्द्रमा ७३ मिलिमिटर पानी मापन गरिएको छ। गोबरेमा ५८.६, बाँसखर्कमा ६४.८, बोल्देमा ६४.२ मिलिमिटर पानी परेको छ।
गोरखाको आरूघाटमा ४२, बारपाक केन्द्रमा ४९.४ मिलिमिटर वर्षात भएको छ।
दिपायलमा ६८.४, अछामको असराघाटमा ५७.६, दैलेखको कट्टीमा ९० मिलिमिटर पानी परेको छ। दोलखाको सिँगटीमा ५२.२ मिलिमिटर पानी परेको छ।