दाङको तुलसीपुर उपमहानगरपालिका–११ का वडाध्यक्ष भाले बोकेर सुत्केरी भेट्न पुगेका छन्।
सोमबार पहिलो सन्तालाई जन्म दिएकी तुलसीपुर–११ हस्नापुरकी सृजना खड्का वली र दोस्रो सन्तानलाई जन्म दिएकी तुलसीपुर–११ बेलटाकुराकी लक्ष्मी चौधरीलाई भेट्न वडाध्यक्ष मानबहादुर रावततसहित अन्य जनप्रतिनिधि दुई वटा भाले बोकेरै पुगेका थिए।
बेलटाकुरास्थित उरहरी स्वास्थ्य चौकीमा पुगेर सुत्केरीलाई एक/एक वटा भाले वडाध्यक्ष रावतसहित कर्मचारीको टोलीले उपहार स्वरूप प्रदान गरेका थिए।
नयँ आर्थिक वर्षदेखि सुत्केरीलाई एउटा भाले उपहार दिने नीतिगत निर्णय अनुसार पहिलोपटक दुई सुत्केरीलाई भाले उपहार प्रदान गरेको जनाइएको छ।
सुत्केरी प्रोत्साहान अन्तर्गत यस आर्थिक वर्षमा वडा कार्यालयले डेढ लाख बजेट बिनियोजन गरेको छ। २० वर्षपछि बिहे गरी सुत्केरी भएका महिलालाई उक्त उपहार दिने वडा कार्यालयले जनाएको छ। यस्तै गर्भवती हुँदा कम्तिमा आठ पटक स्वास्थ्य चौकीमा स्वास्थ्य चेकजाँच गराएको हुनुपर्ने सर्त छ।
सुत्केरी भएपछि कमजोर हुने हुँदा शरीरले पौष्टिक आहारा पाओस् भन्ने उदेश्यले सुत्केरीलाई भाले उपहार दिने योजना अघि सारिएको वडाध्यक्ष रावतले बताए।
'एक जना सुत्केरीलाई एक हजार पाँच सय बराबरको भाले खरिद गरि उपहार स्वरूप दिने नीति अघि सारिएको छ,' उनले भने, 'उक्त रकम बराबरको भाले फेला नपरे बचेको रकम सुत्केरीलाई नै दिने छौं।'
यस्तै, वडा कार्यालयले यही आर्थिक वर्षदेखि वडाका कुनैपनि मानिसको मृत्यु भए किरियापुत्रीका लागि एक किलो घिउ दिने नीति लिएको छ।