यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारका चाडपर्वको साइतसम्बन्धी विवरणअनुसार भाइटीकाका दिन दाजुभाइले पश्चिम फर्केर र दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिनुपर्नेछ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कार्तिक २० गतेदेखि सुरू हुने यमपञ्चकअन्तर्गतका चाडपर्वहरूको मिति र विवरण पनि सार्वजनिक गरेको हो।
समितिका अनुसार कार्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान, २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ।
त्यस्तै, कार्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ। कार्तिक २३ गते सोमबार गाईपूजा तथा २४ गते मंगलबार गोवर्द्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ। सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ।
यसैगरी कार्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका (किजापूजा) मनाइने समितिले जनाएको छ।
समितिका कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसालद्वारा जारी विज्ञप्तिमा २०८३ सालको यमपञ्चकअन्तर्गतका चाडपर्वको विवरण सार्वजनिक गरिएको हो।