दाङको भालुबाङमा ट्रकको ठक्करबाट एक स्थानीय व्यापारीको मृत्युपछि स्थिति तनावग्रस्त बनेको छ।
राप्ती गाउँपालिका–१ भालुबाङ पुल्चोकमा फलफूलको व्यापार गर्दै आएका ५० वर्षीय लोकप्रकाश भट्टराईलाई बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ख २७७९ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो। घटना मंगलबार बिहान ८ बजेर २५ मिनेटतिरको हो। त्यस लगत्तैदेखि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अन्तरगत भालुबाङमा सडकमै शव राखेर विरोध प्रदर्शन गरेका थिए।
त्यसपछि भालुबाङ–लमही सडक अन्तर्गतको सिसहनियाँ हुँदै वैकल्पिक मार्गबाट सवारी साधन चलाउनु परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए।
प्रहरीले साढे १२ बजेतिर मृतकको शव पोष्टमर्टमका लागि लमही अस्पताल पुर्याएको छ। यो बीचमा केहीबेर सडकखण्ड प्रहरीले खुलाए पनि फेरि स्थानीयले बन्द गराएका छन्।
इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक अमरबहादुर माझीले अहिले बाटो खुलाउने पहलस्वरूप छलफल हुन थालेको सेतोपाटीलाई बताए।
ट्रक कैलालीको रहेको र सेती महाकाली ट्रक समितिका मानिसहरू घटनास्थल आउन समय लागेको हुँदा पनि समस्या भइरहेको उनले बताए।
बैतडी जिल्लाको जौगडा केदार गाउँपालिका–५ का चालक ३३ वर्षीय रामसिंह ऐरी र ट्रक अर्घाखाँची जिल्लाको अस्थायी प्रहरी पोष्ट सातामाराको नियन्त्रणमा छन्। दाङको राप्ती गाउँपालिका र अर्घाखाँची जिल्ला राप्ती नदीको पुलले जोडेको छ। पैदलयात्रुलाई ठक्कर दिएपछि ट्रक भागेर गएको स्थानीयको आरोप छ।
दुर्घटनालगत्तै इप्रका भालुबाङका प्रहरी निरीक्षक माझीको कमाण्डमा २१ जना र २५ किलोमिटर पश्चिम लमहीस्थित वडा कार्यालयबाट प्रहरी निरीक्षक प्रकाश भुसालको कमाण्डमा १३ जना प्रहरी खटाइएको छ।
सयौंको संख्यामा स्थानीय जम्मा भई सडक अवरूद्ध पार्ने र नाराबाजी गर्न थालेपछि दाङको घोराहीबाट (झन्डै ५० किलोमिटर टाढाबाट) जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाको कमाण्डमा थप २० जनाको टोली भालुबाङ पुगेको छ।
छलफलमा बसिरहेका प्रवक्ता डिएसपीले अवरूद्ध सडक खण्ड खुलाउनेबारे अन्तिम तयारी भइरहेको बताए। तर, घटनास्थलमा रहेका प्रहरी निरीक्षक भुसालले सवारी साधन नभई पैदल यात्रुलाई मात्रै आउजाउ गर्न दिइएको बताए।