दाङको भालुबाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्युपछि स्थानीयले अवरूद्ध गरेको पूर्व पश्चिम राजमार्ग पुन: सञ्चालनमा आएको छ।
स्थानीय एक व्यापारीको मृत्युपछि स्थानीयले अवरूद्ध गरेको राजमार्ग दिउँसो तीन बजेदेखि पुन:सञ्चालनमा आएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले बताए।
ट्रक व्यवसायीको तर्फबाट जिल्लामा उपलब्ध ट्रकका पदाधिकारी र पीडित पक्ष बीचमा छलफलपछि दिउँसो तीन बजेपछि सडक खण्ड खुलेको हो।
स्रोतका अनुसार मृतकका आफन्तलाई आठ लाख दिने सहमति भएको छ।
मंगलबार बिहानको समयमा राप्ती गाउँपालिका–१ भालुबाङ पुल्चोकमा फलफूलको व्यापार गर्दै आएका ५० वर्षीय लोकप्रकाश भट्टराईलाई बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ख २७७९ नम्बरको ट्रकले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको थियो।
त्यस लगत्तैदेखि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुबाङमा सडकमै शव राखेर अवरोध गरेका थिए।