दृष्टिविहिनहरूलाई नेतृत्व विकास सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ।
‘अपाङ्गता अधिकारको क्षेत्रमा नेतृत्व विकास’ नाम दिइएको दुई दिने कार्यक्रममा दृष्टिविहीनहरूलाई आफ्नो अधिकार माग गर्ने शिक्षा प्रदान गरिएको थियो।
दृष्टिविहीन सहयोग केन्द्रले आयोजना गरेको कार्यक्रममा अध्यक्ष राजेन्द्र दुलाल क्षेत्रीले कार्यक्रम आयोजना गर्नुको औचित्य सुनाएका थिए।
उनले भने, ‘म एउटा कार्यक्रममा सहभागी हुन गएको थिएँ। काठमाडौंको पाँच तारे होटलमा ‘अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ स्थापित कसरी गर्ने भन्ने कार्यक्रममा राजनीतिक कुरा गरेर समय खर्चिएको देखेर म उदासिन भएँ। यतिबेला आयोजकहरूलाई आफ्नो अधिकारको विषयमा अपाङ्गता भएका व्यक्तिहरूले प्रश्न गर्न नसकेको घटनाले मलाई झनै झकझक्यायो। यो घटनापछि मलाई लाग्यो– जसलाई अधिकार चाहिने हो, उसले नबोलेसम्म कसलाई थाहा हुन्छ ? त्यसैले मैले नेतृत्व विकास नभएसम्म केही हुँदैन भनेर यो कार्यक्रमको आयोजना गरेको हुँ।’
कार्यक्रममा बागमती प्रदेशका ३० जना दृष्टिविहीनहरूको सहभागिता थियो।
दुई दिने तालिम कार्यक्रममा सहभागी भएपछि दृष्टिविहीनहरूको अनुभव थियो, ‘यस्तो कार्यक्रम सबैलाई आवश्यक रहेछ। जबसम्म हामीले बोल्न सक्दैनौं, अरूलाई हाम्रो समस्या कसरी थाहा हुन्छ?’