हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ।
बुधबार दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राति देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
पछिल्लो ६ घन्टामा कहाँ कति पर्यो पानी?
पछिल्लो ६ घन्टामा काठमाडौंसहित मधेस, बागमती, लुम्बिनीका केही भूभागमा भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार चितवनको शक्तिखोरमा पछिल्लो ६ घन्टामा १३६.६ मिलिमिटर वर्षा भएको छ।
चितवनकै नारायणी फिल्ड अफिस केन्द्रमा ११७.६ मिलिमिटर पानी परेको छ।
धादिङ गजुरीमा ८० मिलिमिटर वर्षात् भएको छ।
सिन्धुपाल्चोकको भोताङमा पनि पछिल्लो ६ घन्टामा १०३.६ मिलिमिटर पानी परेको छ। सिन्धुपाल्चोककै बाह्रबिसेमा ८३, मानेखर्कमा ७७.४, बाहुनेपाटीमा ९०, दुवाचौरमा ७९, बाँसखर्कमा ७७.४, बोल्देमा ७३.६ मिलिमिटर पानी परेको छ।
काठमाडौंको धापमा पनि भारी वर्षा भएको छ। धप क्षेत्रमा ९९.६, बूढानीलकण्ठमा ८९.४, भक्तपुरको नगरकोटमा ८३ मिलिमिटर पानी परेको छ।
पश्चिम नवलपरासीको सेमरीमा पछिल्लो ६ घन्टामा ८७.२, बाराको परवानीपुरमा ७५.१ बराकै रजुवामा ९१ मिलिमिटर पानी परेको छ। त्यस्तै कपिलवस्तुको तौलिहवामा ७९.६ मिलिमिटर पानी परेको छ।