ललितपुरको लुभुमा रहेको रूख ढल्दा सडक अवरूद्ध बनेको छ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण रूख ढल्दा महालक्ष्मी नगरपालिका वडा नम्बर ८ स्थित तल्लो चौतारामा रहेको पिपलको रूख ढलेर सडक अवरूद्ध बनेको हो। बुधबार बिहानैदेखि उक्त सडक अवरूद्ध छ।
ग्वार्कोबाट लाकुरीभञ्ज्याङसम्म पुग्ने उक्त सडकखण्डमा रूख ढलेपछि सडक डाइभर्जन गरिएको छ। दुई पाङ्ग्रे सवारीसाधन भने आवतजावत भइरहेका छन्।
चार पांग्रे सवारीसाधनलाई भने नर्कटेस्थित गेटबाट डाइभर्जन गरी पठाइएको छ।
सडक खुलाउनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली त्यहाँ पुगेको छ। रूखलाई काटेर पन्छ्याउने काम भइरहेको छ। रूखले बिजुलीको पोलमा क्षति पुर्याउँदा बिजुली पनि अवरोध भएको छ। डोजर पनि प्रयोग गरी बाटो खुलाउने प्रयास भइरहेको छ।