घरमा रहेको अरिङ्गालको गोला चोरी भएपछि वडा कार्यालयमा उजुरी परेको छ।
घरको सिलिङमा रहेको अरिङ्गालको गोलामा आगो लगाएर चोरी गरेको भन्दै यसमा संलग्नहरूको खोजी गरी कारबाही माग गर्दै गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ मा उजुरी परेको हो।
वडा सदस्यसमेत रहेका डिलबहादुर गरन्जाको घरमा गत साउन ९ गते राति करिब १:३० बजे आगो लगाएर अरिङ्गालको गोला चोरी भएको थियो।
अरिङ्गाललाई आगो लगाउँदा आफूले हालसालै घरमा लगाएको रङमा समेत क्षति पुगेको गरन्जाले वडा कार्यालयमा दिएको उजुरीमा उल्लेख छ।
वडाध्यक्ष शरण श्रेष्ठका अनुसार खाब्दीभन्ज्याङस्थित घरको सिलिङमा रहेको अरिङ्गाल गोला आगो लगाएर चोरी परेको भन्दै वडा सदस्य गरन्जाबाट कार्यालयमा उजुरी प्राप्त भएको छ।
‘घरको सिलिङमा रहेको अरिङ्गाल गोलामा आगो लगाएर चोरी गर्नेहरूलाई कारबाही गर्न माग गर्दै उहाँले उजुरी दिनुभएको छ,’ उनले भने।