काठमाडौं नयाँ बसपार्कभित्र पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर २६ नयाँ बसपार्कको ३ नम्बर गेटनजिकै पार्किङ गरी राखिएको बा २ ख २३४४ नम्बरको बसमा मंगलबार युवाको शव फेला परेको हो।
यो बस दुई महिनादेखि पार्किङ गरिराखिएको थियो।
सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी पार्किङ गरेको बसभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
'उहाँ बसपार्क क्षेत्रमै काम गर्ने गरेको खुलेको छ, बाँकी अनुसन्धान गरिरहेका छौं,' उनले भने।
शव पोस्टमर्टमका लागि मंगलबार साँझ नै त्रिवि शिक्षण असपताल महाराजगन्ज पठाइएको एसपी अधिकारीले जानकारी दिए।