दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।
तुलसीपुर उपहानगरपालिका–२ झारगाउँका ६७ वर्षीय तेजबहादुर भण्डारीको शान्तिनगर गाउँपालिका–४ को चिराघाट खोलाले बगाउँदा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घरका दाजुभाइ झारगाउँबाट शान्तिनगर – ४ गिदनियामा आफन्तको घरमा भेटघाट गरी फर्किंदै थिए।
दुबै दाजुभाइले बुधबार दिउँसो साढे १२ बजेतिर सँगै चिराघाट खोला तर्ने क्रममा त्यसमा आएको बाढीले बगाएको थियो। तर, ६४ वर्षीय भाइ चेतबहादुर भण्डारी भने पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले बताएको छ।
तेजबहादुरको शव बगेको ठाउँभन्दा एक किलोमिटर दक्षिणमा फेला परेको थियो। शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइँदै छ।
दाङमा बुधबार वर्षा भएका कारण उक्त खोलामा बाढी आएको थियो।