नेपाल कमर्श क्याम्पसका प्राध्यापक धर्मराज विष्टका हत्या आरोपी १७ वर्षपछि पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका वडा नम्बर ३२ कोटेश्वर बस्ने ३९ वर्षीय रञ्जन खड्कालाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए।
उनीमाथि २०६४ असार २६ गते धर्मराज विष्टको हत्या गरेको आरोप छ।
घटनापछि फरार रहेका उनलाई पक्राउ गरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
यस मुद्दामा चार जना प्रतिवादी रहेको खुलेको छ।
सविता थापा भन्ने सोभितासँग प्राध्यापक धर्मराज विष्टको सामान्य चिनजान थियो। विष्टले थापालाई मन पराउँछु भनेर पटक–पटक फोन सम्पर्क गर्ने गरेका थिए।
थापाले आफू विवाहित रहेको र फोन सम्पर्क नगर्न भने पनि नमानेपछि सविता थापाले आफ्ना सहोदर भाइ विनोद र रञ्जन खड्कासँग सहयोग मागेकी थिइन्।
योजना अनुसार उनीहरूले विष्टलाई शंखमुलमा बोलाएका थिए। यता विनोद, रञ्जन र राजिव पाण्डेसमेत शंखमुल पुलमा ढुकेर बसेका थिए।
विष्ट शंखमुलमा पुगेपछि दुर्व्यवहार गरेको भन्दै रञ्जन लगायतले कुटपिट गरेको खुलेको हो। उनीहरूले रड तथा इटा समेत प्रहार गरी शरीरका विभिन्न भागमा प्रहार गरेपछि मरेको भनेर छाडेर गएका थिए। पछि विष्टको उपचारको क्रममा मृत्यु भएको थियो।
विनोद थापा २०६९ चैत ३ गते झापामा लागु औषध मुद्दामा पक्राउ परेका थिए। लागु औषध मुद्दामा उनलाई चार वर्ष कैद र दुई लाख जरिवाना सजाय सुनाइएको थियो।
उनलाई ललितपुरमा पनि ल्याएर मुद्दाका लागि अदालतमा पेश गरिएको थियो। जसअनुसार उनलाई अदालतबाट २०७१ पुस ३० गते जन्मकैदको सजाय सुनाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए।
त्यस्तै राजीव पाण्डे पनि २०६९ वैशाख २१ गते पक्राउ परेका थिए। २०७१ वैशाख २४ गते १० वर्ष कैदको फैसला भएको थियो। पछि उनी २०७६ जेठ १५ गते छुटेको उनले बताए। यता सोभितालाई पनि कार्यालयकै टोलीले गत चैतमा पक्राउ गरेको थियो। उनी ३ लाख धरौटी बुझाएर पुर्पक्षमा छिन्।
घटनापछि रञ्जन लामो समयसम्म भारतमै बसेको खुलेको छ। उनले त्यहीँकी एक युवतीसँग विवाहसमेत गरिसकेका थिए। उनका एक जना छोरीसमेत छन्।
भारतमा उनले घरमा रंग लगाउने काम गर्दै आएका थिए।
उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाउने तयारी छ।