भदौ २४ गते दिउँसो १२ बजे आसपास सर्वोच्च अदालतले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरूद्ध सुनुवाइ गर्ने बाटो खोलिसकेको थियो।
त्यही निर्णयविरूद्ध अघिल्लो दिन सुरू भएको जेन–जीको आन्दोलनमा १९ जना मारिएपछि त्यस दिन सर्वसाधारण समेत आन्दोलनमा निस्किए। आन्दोलन उग्र बन्यो। सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायत धेरै सरकारी भवनमा आगजनी भयो।
सर्वोच्चको मूल भवन भग्न भयो। नयाँ, पुराना मुद्दाका हजारौं फाइल खरानी भए। यहीँको एनेक्स भवन भने जोगियो। यो भवनको न्यायिक संग्रहालय शाखामा इतिहासका धेरै महत्वपूर्ण अभिलेख तथा सामग्री छन्। यो भवन पनि जलेको भए नेपालको न्यायालयको इतिहास नै खरानी हुन्थ्यो।
न्यायालय सम्बन्धी इतिहासका दस्तावेज र अभिलेख सर्वोच्चको प्रशासन शाखाका कर्मचारी राजन सापकोटाले बडो मेहनत गरेर खोजेका थिए।
अदालतमा तीस वर्ष काम गरिसकेका राजनले केही समयअघि हामीसँग भनेका थिए, 'मलाई त यो सर्वोच्चको नयाँ भवन छिट्टै बनेर सकिए हुन्थ्यो भन्ने भएको छ।'
किन?
'सारा सर्वोच्च अदालत नयाँ भवनमा सरेपछि यो पुरानो भवन नै संग्रहालय बनाउने भन्ने छ। त्यो संग्रहालय बनेपछि बल्ल म छुट्टी लिन्छु,' उनले भनेका थिए।
तर संग्रहालय बनाउने भनिएको भवन अहिले भग्नावशेष भएको छ।
'सर्वोच्चको हालत यस्तो होला भनेर कसले सोचेको थियो र! मन टुक्रिएको छ, सम्झियो कि रून मन लाग्छ,' राजनले भने।
भदौ २४ गते राजन सर्वोच्चको एनेक्स भवनमा रहेको न्यायिक संग्रहालय शाखामै थिए। आन्दोलनकारीहरू अदालत छिर्लान् भन्ने उनले मात्र होइन, कसैले सोचेका थिएनन्।

अपराह्न एक बजेतिर होहल्ला सुनेर राजनले बाहिर हेरे। हुलका हुल मान्छे थिए।
उनले आफ्नो शाखाका ढोकाका चाबी लगाए। साँचो खल्तीमा राखेर निस्किए। एक जना पाले कर्मचारीलाई फोन गरेर अदालतको मूलढोका लगाऊ भने। पालेले 'डर लाग्छ' भन्ने जबाफ दिए।
'आन्दोलनकारीहरू अदालतभित्र छिरिसकेका रहेछन्,' राजनले भने।
उनी एनेक्स भवनबाट बाहिर निस्केर क्यान्टिनसम्म आइपुगेका मात्र थिए, आन्दोलनकारीसँग जम्काभेट भयो। उनीहरू एनेक्सतिरै जाँदै थिए।
उनले अनुरोध गरे — यो भवनमा सबै पुराना कागजात र अभिलेख छन्। यो तपाईंहरू सबैको सम्पत्ति हो। यसमा केही नगर्नू!
लगत्तै सर्वोच्चको मूल भवनको छतमाथि धुवाँको मुस्लो उठ्न थाल्यो। भागाभाग सुरू भयो। राजन पनि मोटरसाइकल चढेर घर आए।
मोबाइलमा समाचार हेरे, अदालत हुर्हुरी जलिरहेको थियो। निभाउने र निभ्ने आशै थिएन।
केही समयपछि उनले सर्वोच्चका न्यायाधीश, कर्मचारीहरू अझै पनि लुकेर त्यतै बसेका छन् भन्ने खबर पाए। उनी घर बसिरहन सकेनन्। साँझतिर फेरि सर्वोच्च हिँडे। मूल भवनमा आगो दनदनी थियो।
मन थामेर उनी एनेक्स भवन गए।
लामो सास फेरे — एनेक्स भवन बचेछ!
'यो भवननमा मैले लामो समयदेखि खोजेर ल्याएका सामान थिए। ती जलेका भए हाम्रो जरो पनि जल्थ्यो,' उनले भने।
केही वर्षअघि, न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा सर्वोच्च अदालतको संग्रहालय बनाउने कुरा अघि बढेको थियो। संग्रहालयमा राख्न अदालतका पुराना अभिलेख खोज्नुपर्ने भयो। यसरी पुराना कुरा खोज्ने काम कसले गर्न सक्छ भन्ने कुरा चल्यो। त्यतिखेरै राजनको नाम आयो।
त्यसपछि न्यायाधीश मल्लले राजनलाई बोलाइन् र भनिन्, 'तपाईंले हामीसँगै काम गर्नुपर्यो। अदालत सम्बन्धी अभिलेख खोज्न सक्ने तपाईं नै हो।'
राजन काममा लागिहाले। सबभन्दा पहिले सर्वोच्चमै रहेका अभिलेख, फैसला, न्यायाधीशका फोटा जम्मा पारे।
एनेक्स भवनको एक कोठामा राजनले संकलन गरेका सामानहरू राख्दै गए।
प्रधान न्यायायालयका पहिलो न्यायाधीश जनरल बहादुर शमशेरको फोटो, उनले इजलासमा बस्दा लगाउने लुगा, उनको मुकुट, प्रधान न्यायालयका फैसला, न्यायसँग सम्बन्धी शिलालेखको डमी, सर्वोच्चकी पहिलो महिला न्यायाधीशको र पहिलो प्रधानन्यायाधीशको फोटो, महिला न्यायाधीशका लुगा, इजलासको दण्ड, पुराना राय किताबहरू लगायत सामग्री।
यी सबै देखाउँदै राजनले भने, 'यहाँका धेरैजसो सामान मैले नै खोजेको हुँ।'
त्यसयता यो संग्रहालय शाखामा धेरै कुरा जम्मा भइसकेका छन्।
अर्को हलका दराजहरूमा राजनले खोजेर ल्याएका कागजात, दस्तावेज र अभिलेख राखेका छन्। बिग्रिए वा केही भए कि भनेर बेलाबखत खोलेर हेर्छन्।
राजनले देशभरबाट अदालत सम्बन्धी खोजेका अभिलेखलाई चल्तीको नेपाली भाषामा अनुवाद गर्न दुई जनालाई दैनिक काम पुगेको छ।
उनले यी सामान कसरी खोजेर भ्याए भन्ने हाम्रो यो प्रश्नमा राजनले उल्टै प्रश्न गरे, 'तपाईंका बाजेबराजु कोही न्यायाधीश, वकिल, डिट्ठा, विचारी थिए?'
खासमा उनको खोजको पहिलो प्रक्रिया यही प्रश्न रहेछ। कोही मान्छे भेटियो र एकछिन कुराकानी हुने अवस्था भए उनी यही प्रश्न गर्छन्।
कसैले 'थिए' भन्ने जबाफ दिए उनको काम सुरू भइहाल्छ। घरमा पुराना दस्तावेज छन् कि छैनन् भनेर राजन सोधिहाल्छन्।
'त्यस्ता दस्तावेज सर्वोच्चको संग्रहालयमा ल्याउनुपर्छ भन्दै तिनको महत्व सम्झाउँदै, फकाउँदै कुरा गर्छु,' उनले भने, 'मैले यसरी नै सर्वसाधारणबाट धेरै अभिलेख लिएर आएको छु।'
ऐतिहासिक महत्वका यस्ता सामग्री पाउने भइसकेपछि राजनले सर्वोच्चको पत्र दिन्छन्। ती सामग्रीको सरजिमिन गरेर अदालतका नाममा प्राप्त गर्छन्।
अभिलेखको वैधानिक स्रोत र आधिकारिकताका लागि यस्तो कार्यविधि बनाइएको उनले बताए।

उनले धेरै आधिकारिक दस्तावेजहरू मानिसहरूका घरघरमा भेटेको छु। राणाकाल, त्यसअघि र पछिका दस्तावेज हस्तलिखित हुन्थे। सरकारी कार्यालयमा नभेटिए पनि कतिपय तत्कालीन न्यायाधीश, कर्मचारीका घरमा भेटिन्छन्।
तर सबैले सजिलै दिँदैनन्। आफूले यसै थन्काएर राखेको कुरामा पनि कसैले चासो देखायो भने लुकाउने प्रवृत्ति उनले धेरै भोग्नुपरेको छ।
'मान्छेलाई फकाउनै समय लाग्छ,' उनले भने, 'ती कागजको महत्त्वै थाहा नभए पनि चासो राख्ने बित्तिकै लुकाउने, शंका गर्ने बानी हुने रहेछ। त्यस्ता मान्छेलाई फकाएर अभिलेख निकाल्नु सबैभन्दा गाह्रो हुने।'
पहिले पहिले त उनलाई पनि लाग्थ्यो — यी कागजका खोस्टामा के नै हुन्छ र?
अचेल उनको बुझाइ फेरिएको छ — इतिहास संस्थाको जरो रहेछ। त्यसैले यो महत्वपूर्ण छ र संरक्षण गर्नुपर्ने कुरा हो।
तिनको खोजी र संरक्षणमा निरन्तर लाग्ने बाचा उनले आफैसँग गरेका छन्।
केही समयअघि उनले १९१७ असार १२ गते जुद्ध शमशेरले प्रधानन्यायालय स्थापना गर्न जारी गरेको सनदको सक्कल प्रति फेला पारेका थिए। सर्वोच्चका अभिलेखहरूमा त्यो सनद थिएन। धेरै पहिले आगलागी हुँदा जलेको अनुमान थियो। राजनले त्यही सनदको अर्को प्रति भेटेका थिए।
उनले दराजमा राखेका ती अभिलेख बडो जतनसाथ झिकेर देखाए। संग्रहालय नबनुन्जेल अभिलेख खोज्ने र तिनको संरक्षण गर्ने जिम्मेवारी उनले लिएका छन्।
'कहाँ भेटेको, कसकोमा भेटेको भनेर नसोध्नू। खड्ग निसाना लागेको यो सनद सक्कल हो भन्ने भएपछि मेरो खोजको एउटा लक्ष्य पूरा भयो,' उनले भने, 'म त्यसैमा खुसी छु।'
उनले यी अभिलेख कसरी फेला पारे भनेर सर्वोच्चमा पनि कतिपय मानिस चकित खान्छन्।
अदालत सम्बन्धी अभिलेख लिन उनी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेका छन्। सिमाना पारि पनि पुगेका छन्।
केही समयअघि उनले एउटा अभिलेख बाजुराबाट ल्याएका थिए। सबभन्दा सजिलो गरी पाएको अभिलेख पनि त्यही हो।
नभए कति ठाउँमा त उनले गाली खाएका छन्, कहीँ मान्छेले शंका गरेर उनको पिछा गरेका छन्। कतिपय अवस्थामा ज्यानकै डर भएको छ।
अभिलेख संकलनका लागि कहीँ जानुपर्यो भने राजन संग्रहालय समितिको नेतृत्वमा भएका न्यायाधीश सपना प्रधान मल्ल र हरि फुयाँललाई जानकारी दिन्छन्। त्यसपछि अरूलाई त जाजरकोट जानु छ भने, नुवाकोट हिँडेको भन्दै निस्किन्छन्।
उनको काम नजिकबाट हेरेका एक कर्मचारी भन्छन्, 'त्यति गोपनीयता राखेर दिलोज्यानले काम गरेका छन्।'
न्यायाधीश फुयाँलका अनुसार उनलाई यसरी देशभरि घुमेर अभिलेख संकलन गर्न सर्वोच्चले निश्चित बजेट छुट्ट्याइदिएको छ। उनीहरूको निगरानीमा राजनले अभिलेख संकलन गरिरहेका छन्।
'राजनजी यसरी नखटेको भए संग्रहालयमा राख्ने यति धेरै सामग्री हामीसँग हुने थिएनन्,' उनले भने।
न्यायाधीश मल्लले पनि राजनले अपत्यारिलो हिसाबले विभिन्न ठाउँबाट महत्त्वपूर्ण अभिलेख संकलन गरेको बताइन्।
'उहाँ नभएको भए हामीसँग अहिले जति अभिलेख संकलन भएका छन्, त्यति हुन सम्भव थिएन,' उनले भनिन्।
राजनलाई आफूले खोजेर ल्याएका अभिलेखमा के लेखिएको छ भनेर भाषा पनि बुझ्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ। काम गर्दागर्दै अलिअलि अनुमान लगाउन सक्ने भएका छन्। तर ती अभिलेख नबुझ्ने उनी मात्र होइन, अदालतभरमै कोही नभएर भाषाविज्ञ खोजेर ल्याइएको छ। राजनले यसमै चित्त बुझाए।
सर्वोच्चमा उनी मुख्य दुइटा काम गर्छन्, कर्मचारीहरूको हाजिर लिने र रेकर्ड राख्ने अर्को कागजात खोज्ने।
तर त्यहाँ धेरै जना अरू कामका लागि पनि उनको भर पर्छन्। पुराना कर्मचारी भएकाले राजनलाई नयाँ आउने उच्च पदका कर्मचारीले पनि अग्रजसरह मान गर्छन्। नजानेको सोध्छन्।
अदालतमा के कुरा कहाँ छन्, को मान्छेले के काम गर्न जान्दछ भन्ने उनलाई जानकारी हुने त्यहाँका अन्य कर्मचारी बताउँछन्।
'केही आइपरे राजनजीलाई भनेपछि भइहाल्छ। अफिसमा केही नयाँ कुरा गर्नुपर्यो भने, कुनै कार्यक्रम गर्नुपर्यो भने त्यो फत्ते नहुन्जेल उहाँ आरामले बस्नुहुन्न। दिनरात नभनी काम गर्नुहुन्छ,' अदालतका सह–रजिस्ट्रार बाबुराम दाहालले भने।
राजनको ड्युटी बिहान ९ बजे सुरू हुन्छ। तर उनी ७ बजे नै पुग्छन्। समयभन्दा अगाडि नै अड्डा पुग्नु आदत भइसकेको उनी बताउँछन्।
'यस्तै बानी बस्यो। केही परिहाल्यो भने सम्हाल्नुपर्यो नि,' उनले भने।
सर्वोच्चमा राजनलाई मन पराउनेहरू धेरै छन्, मन नपराउनेहरू पनि छन्।
राजन आफै पनि भन्छन्, 'मेरो बोली अलि छुच्चो छ। जो भए पनि लागेको कुरा प्वाक्क बोलिदिन्छु। त्यसैलाई केही मान्छेलाई म मनपर्दिनँ।'
पहिलो पटक २८ वर्षअघि उनी अदालतका कर्मचारीका आँखामा बिझाएका थिए।
त्यो बेला पनि अदालत १० बजे खुल्थ्यो तर सबै कर्मचारी समयमा आउँथेनन्। तल्लो तहका कर्मचारी बिहान ११ बजेतिर आइपुग्थे, उच्च तहका त अपराह्न १ बजेतिर। अनि जाडोमा घाम तापेर दिनै कटाउनेहरू पनि थिए।
अदालतमा मुद्दाको संख्या बढिरहेको थियो। फर्छ्यौट हुन मुस्किल हुँदै गएपछि तत्कालीन प्रधानन्यायाधीश मोहन प्रसाद शर्माले कर्मचारीहरू समयमा आउनुपर्ने भने। हाजिरी लिने र यसको जिम्मेवारी कसलाई दिने भन्ने कुरा चल्यो।
त्यति बेला फ्याक्स मेसिन चलाउने जिम्मेवारीमा रहेर काम गरिरहेका राजन अघि सरेर भने, 'आदेश पाऊँ श्रीमान, यो काम म गराउँछु।'
त्यसपछि तल्लो तहका कर्मचारी १० बजे र माथिल्लो तहका कर्मचारी ११ बजे अफिस आइपुग्ने नियम लागू भयो। राजन ढोकामै बसेर हाजिर लिन थाले। कर्मचारी आएको समय ठ्याक्क लेखिदिन्थे।

अनि त ढिला आउन पल्किएका कर्मचारीहरू 'फ्याक्स चलाउने कर्मचारीले हाम्रो आउजाउको हिसाबकिताब राख्ने' भनेर चिढिए। प्रधानन्यायाधीशकहाँ गएर 'हामीलाई राजनले हाजिर लिने, यो त भएन श्रीमान' भने।
प्रधानन्यायाधीश शर्माले भनिदिए — नियम अनुसार १० बजे कार्यालय आउनुपर्ने हो, त्यो लागू गर्न मैले के गर्नुपर्यो, तपाईंहरू आफै भन्नुहोस्!
कर्मचारीहरू चुप भए। अनि समयमै आउन थाले।
'बिहान १० बजे अड्डा आउनुपर्ने नियम अदालतमा त्यसरी लागू भएको थियो,' राजनले सम्झिए।
सर्वोच्चमा डिजिटल हाजिरी नहुन्जेल राजन सबै कर्मचारीको लिखित हाजिरी लिन्थे। आए, गएको समय र बिदाको रेकर्ड राख्थे।
हाजिरी गराउने काममा राजन कतिसम्म कडा थिए भन्ने एउटा किस्सा सह–रजिस्ट्रार बाबुराम दाहालले सुनाए।
त्यो बेला दाहाल मुख्य रजिस्ट्रार श्रीप्रसाद पण्डितको सचिवालयमा अधिकृत थिए।
पण्डितले अघिल्लै दिन दाहाललाई आफू भोलि खाजा समयपछि मात्र आउने जानकारी गराएका थिए। भोलिपल्ट बिहान पण्डितको हाजिरी भएन, राजनले कापीमा गयल (रातो चिह्न) लगाइदिए।
दिउँसो आएर पण्डितले दाहाललाई सुनाए, 'हेर्नु न राजनले रातो लगाइदिएछन्। अब म छुट्टी बसौं कि के गरौं?'
दाहालले हाँस्दै यो किस्सा सुनाए र भने, 'राजनजी आफ्नो काम त्यति मजासँग गर्नुहुन्छ। सानो, ठूलो मान्छे भनेर सोच्नुहुन्न। आफ्नो काम यति लगनले निकै कम मान्छेले गर्छन्। उहाँ बिहान ७ बजे अफिस पुग्नुहुन्छ, हामी कति त त्यति बेला उठेकै हुँदैनौं।'
राजन २०४९ सालमा बिजुलीको काम गर्न सर्वोच्च पुगेका थिए। उनको काम मनपराएर तत्कालीन न्यायाधीश भैरव लम्सालले उनलाई सर्वोच्चमै काम गर्न राखे।
एक पटक, जापानले सहयोग स्वरूप नेपालका सर्वोच्च र १६ वटा पुनरावेदन अदालतलाई फ्याक्स मेसिन पठाइदिएको थियो। सर्वोच्चमा फ्याक्स आइपुग्यो तर चलाउन कसैले जानेन। राजन म चलाउँछु भनेर कस्सिए। अरूले पत्याएका थिएनन्, प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले मौका दिए। राजनले पनि चलाएर देखाइदिए।
त्यसपछि प्रधानन्यायाधीश उपाध्यायले फ्याक्स मेसिनसहित राजनलाई आफ्नो सचिवालयमा सरूवा गरे।
यसरी राजन अदालतमा जमेका हुन्।
२०७२ सालको भुइँचालोमा सर्वोच्च ढल्दा पनि उनले सक्रिय भएर काम गरेका थिए। भुइँचालोको भोलिपल्टै बगैंचामा फुलकोर्ट बस्यो र मिसिलहरू सुरक्षित ठाउँमा सार्नुपर्ने निर्णय गर्यो।
तर त्यो बेला अदालतको अवस्था काम गर्न मिल्ने थिएन। राजनले ठूलो भुइँचालो गएकाले कर्मचारीलाई बिदा दिनुपर्छ भने। तीन दिन बिदा भयो। राजन आफू भने बिदामा नबसी अदालत गए र मिसिल सार्न थाले। अनि उनलाई अरूले पनि साथ दिए।
कसैले नअह्राएको वा नभनेको भए पनि उनलाई आफै ती मिसिल सार्नुपर्छ भन्ने लागेको थियो।
'मिसिल भएन भने अदालतले जनतालाई कसरी न्याय दिन्छ? अदालतमा काम गरिसकेपछि यति कुरा त थाहा हुन्छ नि। मिसिल नजोगाए बर्बाद हुन्छ भन्ने लाग्यो अनि काम थालेँ,' उनले भने, 'जिम्मेवारी कसैले दिने र नदिने भन्ने हुँदैन। आफ्नो काम हो यो भन्ने लाग्नुपर्यो आफूलाई।'
यसरी उनकै अग्रसरतामा अरू कर्मचारीहरू पनि दिनरात खटेपछि तीन दिनमै फाइलहरू जोगिएको र इजलास पनि सारिएको सह–रजिस्ट्रार दाहाल बताउँछन्।
यसपालि आन्दोलनमा सर्वोच्च जलेपछि पनि राजन उसैगरी काम गरिरहेका छन्।
उनी र अदालतका अरू कर्मचारीले हातेमालो गरेर जल्नबाट जोगिएका मिसिलहरू सुरक्षित सारे। अदालतको काम पुनः सुरू गराउन खटिइरहे।
आइतबार फाइल सार्दै गरिरहेका राजनले भने, 'काम गर्ने ठाउँको माया हुन्छ नि!'
