जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले असोज १७ बाट २० गतेसम्म अरनिको राजमार्ग लगायत जिल्लाभित्रका सबै मुख्य र सहायक राजमार्गमा राति गाडी चलाउन रोक लगाएको छ।
राति ७ बजेबाट बिहान ५ बजेसम्म दमकल, एम्बुलेन्स लगायतका अत्यावश्यक बाहेक सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो।
जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म सिन्धुपाल्चोक सहित नेपालका धेरै भूभागमा भारीदेखि अति भारीसम्म वर्षा हुन सक्ने भनी मौसम बुलेटिन प्रकाशित गरेपछि जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो।
यस अवधिमा वर्षाको मात्रा, क्षति र अन्य जोखिम विश्लेषण गरेर सुरक्षा निकायले अन्य समयमा पनि राजमार्ग आकस्मिक बन्द गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
नदी किनारा र अत्यन्त जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्न सुरक्षा युनिटहरूले स्थानीय तह र अन्य सरोकारवालासँग समन्वय गर्ने निर्णय पनि गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय सिन्धुपाल्चोकले आफ्ना सबै शाखा, उपशाखा र सदस्य तथा स्वयंसेवकलाई परिचालन गराउने भनिएको छ।
उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले आफ्ना सबै सदस्य, संघ-सस्था र इकाईहरू परिचालन गराउने, तत्काल उद्धार र राहतका लागि अत्यावश्यक सामग्री जुटाउन आवश्यक समन्वय गर्ने निर्णयमा उल्लेख छ।
राजमार्ग र सहायक मार्गहरू अवरुद्ध भए नजिकका सुरक्षा इकाईहरूले सडक डिभिजन, पूर्वाधार कार्यालय, स्थानीय तह र निजी क्षेत्रसँग उपलब्ध हेभी इक्वीपमेन्ट तत्काल परिचालन गरी सडक सञ्चालनको व्यवस्था मिलाउने छ।
जिल्लामा उपलब्ध दमकल, एम्बुलेन्स र हेभी इक्वीपमेन्टहरूलाई चालकसहित चौबीसै घन्टा तयारी अवस्थामा राख्ने व्यवस्थाका लागि सबैसँग समन्वय गर्ने पनि प्रशासन कार्यालयको निर्णय छ।
उद्धार र राहतका लागि राफ्टिङ बोट, कायाक र त्यसका सञ्चालकहरू आवश्यक परे सिन्धु सुकुटे क्षेत्रका राफ्टिङ व्यवसायीसँग समन्वय गरी परिचालन गर्ने व्यवस्था सुरक्षा निकायहरूले मिलाउने छन्।

