पूर्व र पश्चिमबाट काठमाडौंतर्फ जाने सवारी साधनहरुलाई प्रहरीले चितवनमै रोकेको छ।
१५ वटा 'होल्डिङ स्पेस' तोकेर सवारी साधनहरू रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
प्रहरीले पूर्वबाट आएका सवारी साधनहरू मकवानपुरसँगको सिमाना लोथरमै रोकेको छ।
पश्चिमबाट आउनेलाई पोखरा बसपार्क, आँपटारी, रामनगर र जुगेडीमा रोकेको छ।
पोखरातर्फबाट आएका गाडीहरू मुग्लिन, कुरिनटार, फिस्लिङमा रोकिएको छ।
प्रहरीले बाइपास रोड, केन्द्रीय बसपार्क, गोन्द्राङ, टाँडी, पर्सा, खैरहनी, डडुवा, भण्डारामा पनि होल्डिङ स्पेस तोकिएको छ।
डिएसपी खनालले शुक्रबारदेखि नै मौसम पूर्वानुमानको सूचना प्रवाह गरिरहेकाले शनिबार ठूला सवारी साधन कम चलेको बताए।
'काठमाडौंतर्फ जान खोजेका साना सवारी साधनलाई रोकेर फर्काएका छौं,' उनले भने।
पोखरातर्फ जान खोजेका गाडीलाई रोकिएको छैन।
तुइनखोलामा बेला बेला पहिरो खसिरहेकाले पहिरो पन्छाउँदै सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको खनालले बताए।