देशको सुदूरपूर्वी जिल्ला इलाम यसपटक विपत्तिको 'इपिसेन्टर' बनेको छ।
जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार यसपटक इलाममा रौतहटपछि दोस्रो धेरै पानी परेको छ।
विभागले वेबसाइटमा राखेको सूचनाअनुसार रौतहटको महेशपुरमा असोज १८ गते बिहान ८ बजेदेखि असोज १९ गते बिहान ८ बजेसम्म २४ घन्टाको अवधिमा ३३८.६ मिलिमिटर वर्षा भएको छ।
इलामको हिमाली केन्द्रमा सोही अवधिमा ३३४.२ मिलिमिटर वर्षा मापन भएको छ।
वर्षातको तुलनामा बढी मानवीय क्षति पनि इलाममै भएको छ। अर्थात् इलाम यसपटक विपत्तिको 'इपिसेन्टर' बन्यो।
सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार इलाममा आइतबार मध्याह्न साढे १२ बजेसम्म २८ जनाको मृत्यु भएको छ।
बाढीपहिरोमा परेर उनीहरूको मृत्यु भएको हो।
पहिरोमा परेर इलामको सूर्योदय नगरपालिका १ मा ५ जनाको मृत्यु भएको छ। त्यहाँ २ जना घाइते छन्। उनीहरूको उद्धार गरिएको छ।
इलाम नगरपालिका ६ मा मृत्यु हुनेको संख्या ६ पुगेको छ।
देउमाई नगरपालिकामा २ जनाको मृत्यु भएको छ। फाकफोकथुम गाउँपालिकामा १ जना, माङसेबुङमा ३, माइजोगमाई गाउँपालिकामा ८, सन्दकपुर गाउँपालिकामा ३ जना गरी २८ जनाको मृत्यु भएको छ।
घाइतेको यकिन विवरण अहिलेसम्म प्राप्त भएको छैन।
उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा खटिएका छन्।
पहिरो गएको स्थल विकट ठाउँ भएकोले नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार सुरू गरेको छ।
मृत्यु भएकामध्ये ८ जनाको सनाखत भएको प्रहरीले जनाएको छ।
सूर्योदय नगरपालिका-१ बसने ६०/६५ वर्षकी मनमाया क्षेत्री, ११ वर्षीया रश्मिका क्षेत्री, ४० वर्षीया महिला र १५ वर्षकी बालिका छन्। दुई जनाको नाम खुल्न बाँकी छ।
यस्तै, इलाम नगरपालिका-६ बस्ने २३ वर्षीय समिर देउसाली, २३ वर्षीय प्रविन पाख्रिन, २३ वर्षीय विराज पाख्रिन, ३२ वर्षीय अनु तामाङ छन्।
अन्य दुई जना पाहुना गएका ३२ वर्षीय प्रनिशिका मगर र ४ वर्षीय आरूष दनुवार छन्। उनीहरूको ठेगाना खुलेको छैन।
सशस्त्र प्रहरी बल डिएसपी थापाका अनुसार सूर्योदय नगरपालिका-१ मा पाँच जनाको मृत्यु भएको हो।
त्यस्तै, इलाम नगरपालिका-६ मा ६ जनाको मृत्यु भएको छ।
देउमाई नगरपालिकामा दुई जना, फाकफोकफुङ गाउँपालिकामा एक जना, माङ्सेबुङका तीन जना र माइजोकमाइ गाउँपालिकामा आठ जनाको मृत्यु भएको डिएसपी थापाले बताए।
सन्दकपुर गाउँपालिकाका तीन जनाको मृत्यु भएको हो।
माङ्सेबुङबाट नेपाली सेनाले दुई जनाको हेलिकप्टरबाट उद्धार गरेको छ। एक जना पुरूष र एक जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरी विराटनगरस्थित अस्पताल पठाइएको छ।
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे यकिन विवरण आउन केही समय लाग्ने बताएकी छिन्। अहिले आफूहरू उद्धारमै खटिएको उनको भनाइ छ।